युगान्डामा स्कुल बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

न्युजलय ३३ असार २०८३, शुक्रबार ०३:०० मा प्रकाशित

काठमाडौँ । पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । 

ट्राफिक र सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराले विज्ञप्ति जारी गर्दै  युगान्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कप्चोर्वाको सिपी फल्सको शैक्षिक भ्रमणमा लगिएको  अवस्थामा दुर्घटना भएको जनाइएको छ  ।

भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाडीको नियन्त्रण गुमाउँदा गाडी सडकबाट चिप्लिएर सडक किनारको ठूलो ढुङ्गामा ठोक्किँदा भएको दुर्घटनामा ठुलो मानविय क्षति भएको कानानुराले पुष्टि गरेका छन् । 

दुर्घटनाको वास्तविक कारण बारे थाहा पाउनको लागि प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताइएको छ ।