इटहरीकी मेनुकाको मृत्यु शंकास्पद, प्रहरी भन्छ, 'पोष्टमार्टम रिपोर्ट आएपछि मात्र अनुसन्धान थाल्छौं'

न्युजलय ३२ भदौ २०८१, मङ्गलबार १०:२८ मा प्रकाशित

इटहरी । गत भदौ २८ गते शुक्रवार इटहरी उपमहानगरपालिका १३ खनारकी २४ वर्षीय मेनुका दाहालले आत्महत्या गरेको भन्दै उनको परिवारले झापामा रहेका माइती पक्षलाई जानकारी गरायो । मृत्यु शङ्कास्पद देखिएपछि आफन्तहरुले प्रहरी गुहारे । भदौ ३० गते जाहेरी दिएपनि मंगलबार रातीसम्म पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन । 


मेनुकाको शरीरमा नीलडाम देखिएपछि उनको हत्या भएको शंका माइती पक्षले गरेको थियो । श्रीमान् ईश्वर बरालले कुटपिटपछि हत्या गरेको भन्दै दाहालका आफन्तहरुले प्रहरीमा उजुरी गरेका थिए l तर घटनाको तीन दिन बितिसक्दा पनि प्रहरीले न त घटनास्थलको अध्ययन गरेको छ, न त मुचुल्का नै उठाएको छ । प्रहरीले अनुसन्धानमा देखाएको उदासिनताका कारण पीडक छुट्ने भन्दै मृतकका आफन्तहरु आत्तिएका छन् ।


दाहाल झुण्डिएको अवस्थामा भेटेको भन्दै श्रीमान ईश्वर र भाउजुले पासो काटेर अस्पताल पुर्‍याएको र त्यतीन्जेल प्रहरी अनि आफूहरुलाई थाहा नदिइएको मृतकका भाई घनश्याम दाहालले बताए । त्यसमाथि बरालकी आमाले मिल्नुपर्छ भन्दै फोन गरेपछि आफूहरु झन् सशंकीत बनेको उनले बताए । मृतका श्रीमानका दाजु भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । 


अनुसन्धानमा प्रहरीले वास्ता नगरेपछि आफन्तहरु अधिकारकर्मी, पत्रकारहरुसमेतको समुह बनाएरै मंगलबार इलाका प्रहरी कार्यालय पुगेका थिए । आरोपी कतै नजाने, आफूहरुले निगरानीमा राखेको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र उजृरी दर्ता गरेर अनुसन्धान गर्ने जवाफ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले दिएको उनीहरुले बताएका छन् । 


तर प्रमाणहरू नष्ट हुँदै गएको, मृतकको दाहसंस्कारसमेत भइसकेको अवस्थामा प्रहरीको भुमिकाले दोषीलाई जोगाउन खोजेको माइतीपक्षको आरोप छ ।