काठमाडौं । नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक मोरङ अटो वर्क्स (एमएडब्लू)लाई उपभोक्ता अदालतले जरिवाना तिराएको छ । उपभोक्तालाई नयाँ भनी पुरानो मोडेलको मोटरसाइकल बेचेको ठहर गर्दै अदालतले अदालतले एमएडब्लू र काठमाडौंस्थित जीआरएस टु ह्विलर्स अटो प्रालिलाई ३ लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
पीडित उपभोक्ता नानीकाजी खड्काले ४ लाख ४५ हजार रुपैयाँमा २०२४ मा बनेको नयाँ मोडेल भन्दै एफजेड एक्स-बीएससिक्स मोडेलको मोटरसाइकल खरिद गरे पनि सवारी दर्ता प्रमाणपत्रमा उक्त बाइक २०२२ मै उत्पादन भएको खुलासा भएको थियो ।
बिक्रेताले इन्जिन, ब्याट्रीलगायतका सम्पूर्ण पार्टपूर्जामा १८ महिनासम्म वारेन्टी दिने भनेर भ्रमपूर्ण विज्ञापन गरेको थियो । मोटरसाइकल किनेको बिलसमेत नदिइएको पीडितले बताएका छन् । त्यसको सट्टा चलान नम्बर ३०१ मा रकम लिएको देखाएर चलान पुर्जी मात्रै उपलब्ध गराएको थियो ।
खरिदपछि मोटरसाइकलमा सेल्फ स्टार्ट नचल्ने, ब्याट्री बिग्रने, धुवाँ बढी फाल्ने, रङ खुइलिने, इन्धन अत्यधिक खपत हुने जस्ता समस्या देखा परेपछि मर्मत गर्न गए, तर कम्पनिले मर्मतको पैसा तिराएको उनले बताए । पछि वारेन्टी दिने भनेको समयमा जीआरएसले वारेन्टी दिने समय सकिएको बताउँदै पन्छिएको थियो भने लिखित रुपमा एमएडब्लुमा जानकारी दिँदा आफूहरुले केही गर्न नसक्ने जवाफ दिएको खड्काको गुनासो छ । आफू ठगिएको थाहा पाएपछि उनले अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले पनि २०२४ भनेर भ्याट बिलमा लेखेर २०२२ को मोडल बेचेको निष्कर्ष निकालेको थियो । १८ महिना वारेन्टी भनिएपनि कम्पनिले अदालतमा भने एक वर्ष मात्र वारेन्टी रहेको जिकिर गरेको थियो । यस्तै मोटरसाइकल किनेको दुई महिनामै ब्याट्री बिग्रिएको समेत उल्लेख गरेको छ ।
अदालतले कम्पनीले भ्रमपूर्ण विज्ञापन गर्दै वारेन्टी सुविधा नदिएको, उपभोक्तालाई आर्थिक, मानसिक र सामाजिक क्षति पुर्याएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कार्य गरेको ठहर गरेको छ ।
उपभोक्ता अदालतले यस्तो फैसला गरेपछि उपभोक्ताहरु खुसी भएका छन् । आफूहरुलाई पनि अन्य कम्पनिले पनि यसैगरी झुक्याएको भन्दै अदालत जाने बताएका छन् ।