अर्जेन्टिनासँग हारेपछि फ्रान्सका खेलाडीमाथि रंगभेद, दुई खेलाडी निशानामा

न्युजलय ६ पुस २०७९, बुधबार ०२:२५ मा प्रकाशित

काठमाडौं । फ्रान्स फुटबल फेडरेशनले फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग हारेपछि फ्रान्सेली टोलीका केही खेलाडीहरूप्रति सामाजिक सञजालमा रंगभेदी दुर्व्यवहार भइरहेकोप्रति निन्दा गरेको छ । 


फेडरेशनले यसविरुद्ध कानुनी उपचारमा जाने पनि बताएको छ । टोलीका खेलाडी किंग्सली कोमान र ओहेलिया चुयामेनी दुर्व्यवहारको निशाना बनेका छन् । 


पेनाल्टी शुटआउटका क्रममा दुवै खेलाडीले गोल गर्न सकेका थिएनन् । यो घटनापछि अघिल्लो वर्ष युरो कप फाइनलमा भएको घटनाको फेरि एकपटक सम्झना हुन गएको छ जहाँ इटालीसँग हारेपछि इंग्ल्याण्डका तीन खेलाडीहरूमाथि यसै किसिमको दुर्व्यवहार भएको थियो ।


फ्रान्सका फुटबल प्रमुखले मंगलबार कडा वक्तव्य जारी गर्दै दुर्व्यवहार गर्नेहरूप्रति निन्दा गरेका छन् ।