पल शाहलाई कारागारभित्रै लगाइदिइन् बहिनीले भाइटीका

न्युजलय १२ कार्तिक २०७९, शनिवार ०१:२६ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ कारागारभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला, मिठाइ, भाइमसलालगायत टीकाका सामग्री लिएर दाजु पललाई टीका लगाइदिन कारागारमा पुगेकी थिइन् ।


तनहुँ कारागार प्रमुख नारायण अधिकारीका अनुसार पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए । 


पल निकट संगीतकर्मी योगेशकाजी र सहयोगी जुरी ठाकुरले रोशनीले कारागारमै पुगेर पललाई भाइटीका लगाइदिएको बताए । 


यसपटकको दशैंमा पनि रोशनीले पलको दशैंटीकाको टिकटक भिडियो सेयर गरेकी थिइन् ।

 

पललाई कारागारमा भेट्न जाने, कानुनी र आर्थिक व्यवस्थापन गर्ने काममा समेत रोशनी सक्रिय छिन् । पलविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । उनीविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।


नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दे दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।


तनहुँ जिल्ला अदालतमा भने पलविरुद्धको मुद्दा कायमै छ । आगामी पेशी कात्तिक १६ गतेलाई तोकिएको पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।