विराटनगर । झापाको मेचीनगर नगरपालिका ७ स्थित नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । सो क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको आरोप स्थानीयको छ ।
खुकुरी प्रहारबाट सात जना घाइते बनेका छन् । शुक्रबार साँझ साढे ७ बजेको समयमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठको कमान्डमा तस्करीको सामान चेकजाँचको लागि सो क्षेत्र पुगेको थियो । एक जनालाई तस्करीको सामानसहित पक्राउ गरेको प्रहरीलाई रोक्न २०–३० जना तस्करहरूले बाटो छेकेर ढुंगामुढासहित आक्रमण गरेको बताइएको छ ।
उनीहरुले गाडीमा आगजनीको प्रयाससमेत गरेका थिए । त्यसपछि थप मद्दतको लागि काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक कुशल राईको कमान्डमा २३ जनाको टोली त्यस ठाउँ पुगेर प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।
कुटपिटको विषयमा बुझ्न जाँदा ड्राइभरले खुकुरी निकालेर प्रहार गरेको स्थानीयले बताएका छन् । झडपमा परी ६ जना स्थानीय र ३ जना प्रहरी घाइते भएको बताइएको छ । घाइते हुने स्थानीयमा दीपा बाँतर, हरि बाँतर, विशेष राजवंशी, मिलन चापागाईं, आनह यादव र दीपक बाँतर छन् । उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको छ ।