विश्वभर दैनिक ४ हजार मानिस एचआइभी सङ्क्रमित

न्युजलय १५ साउन २०७९, आइतबार ०८:३२ मा प्रकाशित

काठमाडौं । विश्वभर प्रत्येक दिन करिब ४ हजार जनामा एचआईभी सङ्क्रमण हुने गरेको पाइएको छ । राष्ट्रसंघले आइतबार देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो ।  


राष्ट्रसंघले ट्विट गर्दै एचआईभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसका विरुद्धमा जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउन समेत आग्रह गरेको छ । एचआईभी-एड्स सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम विश्वव्यापी एचआईभी प्रतिक्रियाको पछिल्लो तथ्याङ्कले कोभिड १९ र अन्य विश्वव्यापी सङ्कटका पछिल्ला दुई वर्षहरूमा एचआईभी महामारी विरुद्धको प्रगति कमजोर भएको बताएको छ । यसका विरुद्ध परिचालन हुने स्रोतहरू सङ्कुचित भएका छन् । जसका कारण लाखौंको ज्यान जोखिममा रहेको पनि तथ्याङ्कले देखाएको छ ।  

 

नयाँ सङ्क्रमणको सङ्ख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापी रूपमा केवल ३.६ प्रतिशतले घटेको छ जुन नयाँ एचआईभी सङ्क्रमणमा सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो।  


पूर्वी युरोप र मध्य एशिया, मध्य पूर्व र उत्तर अफ्रिका र ल्याटिन अमेरिकामा धेरै वर्षदेखि वार्षिक एचआईभी सङ्क्रमणमा वृद्धि भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।  

  

विज्ञप्तिअनुसार एड्सले प्रत्येक मिनेटमा ज्यान लिइरहेको छ । औसतमा सन् २०२१ मा  विभिन्न रोकथामात्मक उपचारका बाबजुद ६५०,००० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।  

 

प्रतिवेदनले महामारी नियन्त्रण गर्न तत्काल कदम चालिएन भने विनाशकारी परिणामहरू आउने देखिन्छ। यदि यही दरमा सङ्क्रमण बढ्दै जाने हो भने सन् २०२५ मा सङ्क्रमितको सङ्ख्या १२ लाखभन्दा बढी थप हुनेछ  ।