काठमाडौं। भाडा नदिएको निहुँमा पाल्पामा एक घरधनीले आफ्नो घरमा बस्दै आएका एक व्यक्तिको हत्या गरेको खुलेको छ।
प्रहरीका अनुसार पाल्पाको तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घर भाडा नदिएको निहुँमा रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन्।
घटनापछि विष्टलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो। त्यस क्रममा १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुढाथोकी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आएका थिए।
मजदुरीबाट जीविका गर्दै आएका बुढाथोकी माघ २३ गते बिहान कोठामा मृत भेटिएका थिए। उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्टलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।