एमाले सुनसरी अध्यक्ष खनालको निधन

न्युजलय २४ जेठ २०८१, बिहिबार ०८:५५ मा प्रकाशित

इटहरी । नेकपा (एमाले)सुनसरी जिल्ला कमिटि अध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका निवर्तमान मेयर निलम खनालको निधन भएको छ । 


नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा तेलङ्गना राज्यको कागज नगर पुग्दा निधन भएको हो । उनी जण्डिस लगायत स्वास्थ्य समस्याबाट लामो समयदेखि बिरामी थिए ।


उनी यसै महिना मात्र नेकपा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी जिल्ला उपाध्यक्ष थिए ।


२०१८ सालमा जन्मेका खनाल २०३७ सालदेखि राजनीतिमा सक्रिय भएका थिए । उनले अनेरास्ववियुको राजनीतिदेखि पार्टीको इलाका कमिटि हुँदै जिल्ला कमिटी सचिवालय सदस्यसम्म रहेर कुशलतापूर्वक काम गरेका थिए । २०५४ सालमा सुनसरीको भरौल गाविस उपाध्यक्षसमेत बनेका थिए ।


२०४२ सालको बमकाण्डमा संलग्न रहेको आरोपमा उनी पक्राउ पर्ने थाहा पाएपछि भारतको बनारसमा गएर भूमिगत राजनीति गरेका थिए । त्यहीँ उनको भेट मदन भण्डारीसँग भएको थियो ।