काठमाडौं । पैसा लिएर मानार्थ विद्यावारिधि (पीएचडी) दिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भारतीय विश्वविद्यालयलाई ठगी मुद्दा चलाउन सिफारिस गरेकी छिन् ।
मन्त्री श्रेष्ठले भारतको ‘सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी’ नाम गरेको संस्थाले रकम लिइ मानार्थ विद्यावारिधि उपाधि दिएको भन्दै गृह मन्त्रालयमा सिफारिस गरेकी हुन् ।
नेपालमा कार्यक्रम गर्नुअघि शिक्षा मन्त्रालयसँग स्वीृकति नलिई तथा कुनै जानकारी नगराई कार्यक्रम गरेकोमा समेत कारबाही गर्न सिफारिस गरिएको छ ।
सोक्रेट्स विश्वविद्यालयले शनिबार पर्यटन बोर्डमा एक कार्यक्रम राखी ५१ हजार नेपाली रुपैयाँ लिएर मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने भन्दै प्रचार गरेको थियो ।
यस्तै, ‘इन्टरनेसनल गौरव अवार्ड’का निम्ति भन्दै २१ हजार नेपाली रुपैयाँ उठाइएको पाइएको थियो । शिक्षा मन्त्रालयको ध्यानाकर्षण र निगरानीपछि शनिबारको औपचारिक कार्यक्रम रद्ध गरेपनि अनौपचारिक तरिकाले पीएचडी बाँडेको खुलेको छ । विकाउ उपाधि र पुरस्कारको पछि नलाग्न मन्त्री श्रेष्ठले सबैमा अपिल समेत गरेकी छिन् ।
भारतीय विश्वविद्यालयहरुले आजकल पैसा लिएर पिएचडी दिने धन्दा नै चलाएका छन् । कतिपय कन्सल्टेन्सीले फेसबुक बुस्ट नै गरेर डाक्टर उपाधी पाउनुहोस् भनेर विज्ञापन गरिरहेको पाइन्छ ।
मानार्थ पिएचडी विश्वविद्यालयले निश्चित योग्यताका आधारमा समाजमा विशिष्ट कार्य गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरेको छ । तर भारतीय विश्वविद्यालयले भने त्यसलाई मार्केटिङको माध्यम बनाएको र विभिन्न नाममा शुल्क लिएर ठगी धन्दा चलाइरहेको पाइएको छ ।
यस्ता संस्थाका एजेन्टहरुले समाजमा योगदान दिइरहेका नेपालीहरुलाई नै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रमाणपत्र दिने गरेका छन् । सोवापत विभिन्न नाममा शुल्क लिने र नेपालीहरुले पनि मानार्थ पिएचडी पाइने लोभमा पैसा दिने गरेका छन् । कतिपयले जानाजान त कतिपयले अन्जानमा यस्तो प्रमाणपत्र लिने गरेका छन् ।
आफ्नो नामको अगाडी डाक्टर लेखाउन चाहनेहरुका लागि भारतीय कन्सल्टेन्सीहरुले यस्तो विज्ञापन बनाएका छन् -