बुढासुब्बा गोल्डकपको २३ औं संस्करण फागुन १३ गतेदेखि सुरु

न्युजलय ८ फाल्गुण २०७९, सोमबार ०७:२१ मा प्रकाशित

 धरान । बुढासुब्बा गोल्डकपको २३ औँ संस्करण यही फागुन १३ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जनाएको हो । क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगितामा ८ वटा क्लबहरू सहभागी हुनेछन् ।

केबिपिएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, युके एफसी भारत, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी हुने राईले बताए ।

प्रतियोगितामा १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको छ । जसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ ।

साथै, उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने बताइएको छ ।