टायल र मार्बलमा कुन राम्रो ?

न्युजलय १९ जेठ २०८०, शुक्रबार १२:०६ मा प्रकाशित

इटहरी । घर बनाउँदा प्रयोग गरिने अनिवार्य आवश्यकताका वस्तुमा टायल्स र मार्बल पर्न थालेका छन् । केही समयअघिसम्म यसलाई धनीहरुले घर बनाउँदा प्रयोग गर्ने सामाग्री मानिन्थ्यो । टायल वा मार्बलको प्रयोग महँगो पर्छ भन्ने मानसिकता थियो । तर आजभोलि यी वस्तुहरु अनिवार्य झै बनेका छन् । घरलाई आकर्षक बनाउन, टिकाउ बनाउन र सफा गर्न सजिलो बनाउनका लागि टायल्स र मार्बलको प्रयोग आवश्यक नै मानिन्छ । 

भान्सा, बरन्डा, भर्याङ, बाथरूम आकर्षक, सफा र सुरक्षित बनाउन टायल र मार्बलले विशेष भूमिका खेल्छन् । टायल्स र मार्बल सफा गर्न पनि सजिलो हुन्छ । त्यस्तै सामान्य प्लास्टरभन्दा आकर्षक हुनुका साथै टिकाउ पनि हुन्छ । 

त्यसैले बाथरुमहरुमा त यो अनिवार्य नै बनिसकेको छ भने बेडरुम, किचनदेखि भर्याङलगायत घरका अन्य भागमा अनि कसैले त भित्तामा पनि टायल्स र मार्बल लगाउने गर्छन् । आफ्नो आर्थिक क्षमताअनुसार सकेसम्म धेरै टायल्स मार्बल प्रयोग गरेकै राम्रो मानिन्छ । 

टायल र मार्बलका आ–आफ्नै विशेषता छन् । त्यसैले आवश्यकताको आधारमा यसलाई प्रयोग गर्दा राम्रो हुने राजस्थान टायल्स एण्ड मार्बल इटहरीका सञ्चालक बलदेव चौधरी बताउँछन् । 

चौधरीका अनुसार टायल्स माटोबाट बनाइएको हुन्छ भने मार्बल एक प्रकारको ढुंगा हो । जसलाई काटेर पाता बनाइएको हुन्छ । त्यसैले टायल्सभन्दा मार्बल धेरै गुणा बलियो र आकर्षक हुन्छ । त्यसका साथै महँगो पनि हुन्छ । 

मार्बलखानीहरु नेपालमा पनि छन् । तर भारतको राजस्थानको मार्बल विशेष मानिन्छ । आकर्षक र गुणस्तरीय मार्बल खोज्नेहरुले राजस्थानबाट ल्याएको मार्बल नै प्रयोग गर्ने चौधरीको भनाई छ । 

एक पटक मार्बल लगाइसकेपछि वर्षौंसम्म ढुक्क हुने उनी बताउँछन् । त्यसो त मार्बलको प्रयोग गरिएको भारतको ताजमहल ७०० वर्षदेखि उस्तै छ । अझ गर्मी हुने कोठामा वा बाहिरी भागमा मार्बल लगाउँदा कोठा चिसो राख्न मद्दत पुग्छ । त्यसैले तराइका घरहरुमा मार्बलको प्रयोग अझ राम्रो हुन्छ । तर सधैं चिसो रहने बाथरुममा भने टायल्सको प्रयोग उपयुक्त मानिन्छ । 

आफूहरुले इटहरी र बिर्तामोडबाट राजस्थानी मार्बल, ग्रेनाइट्स तथा स्तरीय टायल्सको बिक्रि गरिरहेको जानकारी दिँदै उनी भन्छन्, ‘ग्राहकहरुमा गुणस्तरसम्बन्धि चासो राम्रो छ, मार्बल, टायल्स तथा ग्रेनाइट्स धनीहरुले होइन, बुद्धिमानीले प्रयोग गर्ने निर्माण सामाग्री हो भन्ने बुझ्न थाल्नुभएको छ ।’