झापा । अन्तिम १० मिनेटमा भएको गोलमा सातदोबाटो युथ क्लबले सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ ले हराउँदै झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातदोबाटोले गोलका लागि ८२ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । सातदोबाटोले ८२औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको हो । त्यसको तीन मिनेट वित्न नपाउँदै नीरज चौधरीले सातदोबाटोको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा दीपेश धिमालले गरेको गोलबाट एपीएफले पुनरागमनको प्रयास गरे पनि त्यो धेरै ढिला भइसकेको थियो ।
त्यसअघि छैटौँ मिनेटमा एपीएफका युवराज खड्काले पेनाल्टी क्षेत्रमा पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । १३औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढामगरले गरेको हेडिङ प्रहार एपीएफका गोलकिपर युया कुरियामाले बचाएका थिए ।
४६औँ मिनेटमा सातदोबाटोका सुशीलको प्रयासलाई एपीएफका रक्षक कुरियामाले विफल बनाइदिएका थिए ।
म्यान अफ दी म्याच घोषित सातदोबाटोका सुशीलले ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबार हुने अर्को क्वार्टरफाइनलमा संकटा र थ्री स्टर क्लबले प्रतिस्पर्धा गर्नेछन् । संकटाले नेपाल पुलिस क्लबलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।