रसुवा बाढीः मृतकको संख्या १३ सय ६७ पुग्यो

न्युजलय २४ भदौ २०८३, बुधबार १२:१७ मा प्रकाशित

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ जना पुगेको छ ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । 

प्राधिकरणका अनुसार सबै भन्दा बढी शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका हुन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ ।

प्राधिकरणले हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको हो । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ । बाढी तथा विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको हो। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेका छन् ।