सन्दीप लामिछानेले बिग ब्यास लिग खेल्ने

न्युजलय १९ साउन २०७९, बिहिबार ०२:३० मा प्रकाशित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पुनः बिग ब्यास लिग (बीबीएल) खेल्ने भएका छन् । अस्ट्रेलियाको फ्रेन्चाई लिग बिग ब्यासले बुधबार २०२२/२३ का लागि सार्वजनिक गरेको ड्राफ्टमा लेग स्पिनर सन्दीप परेका हुन् ।


सन्दीपसहित अन्य लेग स्पिनर अफगानिस्तानका मुजिबुर रहमान र मोहम्मद नावी, दक्षिण अफ्रिकाका इमरान ताहिर पनि ड्राफ्टमा छन् । बिग ब्यासले १३ देशका १६९ क्रिकेटरलाई बिग ब्यास लिगका लागि ड्राफ्टमा राखेको हो । बिग ब्यासको ड्राफ्ट आगामी भदौ १२ गते हुनेछ ।


सन्दीपले गत वर्ष होवर्ट हरिकन्सका लागि खेलेका थिए । उनी सो क्लबमै ‘रिटेन’ हुन सक्ने सम्भावना पनि छ । गत वर्ष उनले होवटका लागि १४ खेलमा प्रतिओभर ७.७९ रनको औसतमा १४ विकेट लिएका थिए । उनले २०२२/२१ को सत्रमा पनि होवर्टबाटै खेलेका थिए । यसअघि उनले दुई सत्र मेलवर्न स्टार्सको जर्सी पनि लगाएका छन् । सन् २०१८ मा पहिलो पटक सन्दीपले बिग ब्यास खेलेका हुन् ।