सावित्राको दुई गोलमा हारबाट जोगियो नेपाल

न्युजलय ४ फाल्गुण २०७९, बिहिबार ०१:३१ मा प्रकाशित

काठमाडौं । भारत विरुद्धको मैत्रिपूर्ण खेलमा नेपालले रोमाञ्चक बराबरी गरेको छ। अन्तिम केहि मिनेट बाँकी रहँदा २–० ले पछि परेको अवस्था उल्टाउँदै नेपालले खेल २–२ गोलको बराबरी खेलेको हो। नेपालले खेलको अन्तिम समयमा तीन मिनेट भित्र सावित्रा भण्डारीले दुई गोल गर्दै नेपालको हार टारेकी थिइन्।

सावित्रा भण्डारीले ९० औ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गर्दा उनले इन्जुरी समयमा दोस्रो गोल थप्दै भारत विरुद्ध नेपाललाई रोमाञ्चक बराबरीमा पुर्‍याएकी थिइन्। यसअघि भारतले २–० को अग्रता बनाएको थियो।

जवाहरलाल नेहरू स्टेडियममा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। लगतै ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन्।

तर ९० औं मिनेटमा  भारतकी स्विटी देवीले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्रा भण्डारीले गोल गर्दै खेलमा नेपाललाई फर्काएकी थिइन। इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई हारबाट जोगाउन सफल भइन।

ओलम्पिक छनोटको तयारी रहेको भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुने छ।