खैरो हेरोइनसहित पाँचथरका थाम्सुहाङ पक्राउ

न्युजलय ६ बैशाख २०८१, बिहिबार ०१:३० मा प्रकाशित

काठमाडौँ । अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित एक जनालाई  नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । 

प्रहरीले  खैरो हेरोइनसहित पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भएका ३५ वर्षीय राजु थाम्सुहाङलाई गत वैशाख ३ गते ललितपुर महानगरपालिका–१४ विशालाचोकबाट पक्राउ गरेको हो ।  

काठमाडौँ उपत्यकालाई  केन्द्रबिन्दु बनाई लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई लामो समयको निगरानी पश्चात् यस लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले थाम्सुहाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट प्रहरीले खैरो हेरोइन २३२ ग्राम, नगद  १ लाख ८० हजार र डिजिटल तराजु १ थान समेत बरामद गरेको छ ।

उनीमाथि लागु औषध बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।