प्रतिबन्धित समयमै बुढी खोलामा जथाभावी दोहन, प्रहरीले वास्ता नगरेको आरोप

न्युजलय ५ भदौ २०८१, बुधबार ०६:३६ मा प्रकाशित

इटहरी । इटहरी र सुन्दरहरैंचाको सीमामा पर्ने बुढी खोलामा बेलाबखत अनियन्त्रित उत्खनन हुने घटना बाहिर आउने गरेका छन् । सोही क्रममा बुधबार पनि नयाँ वृन्दावन गौशाला आसपास ट्याक्टरले उत्खनन गरेको छ । उत्खनन रोक्नको लागि इटहरी प्रहरीलाई जानकारी गराएपनि सुनुवाई नभएको नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्रीजी महाराजले जानकारी दिए ।


‘दिनभरी ट्राक्टर लागेर गिटी वालुवा ओसार्यो, प्रहरीलाई पटक पटक फोन गर्दा ट्राक्टर हिडिसकेपछि प्रहरी आयो,’ उनले भने, ‘हामीले प्रश्न गर्दा अनुमति छ भन्दै जाइलाग्ने गरेका छन्, प्रहरी बेलामा आउँदैन, दोहनसँगै असुरक्षा पनि भएको छ ।’ को १ त १६३९ नम्बरको ट्राक्टरले खोलाबाट गिटी बालुवा ओसारेको हो ।


उक्त स्थानमा पटक पटक दोहनका घटना बाहिरिने गरेका छन् । झोलुंगे पुलको पाँच सयदेखि एक किलोमिटर तल माथि ढुंगागिटी निकाल्न नपाइने नियममा उल्लेख छ । यस्तै वस्तीबाट दुई किलोमिटरको क्षेत्र भित्र उत्खनन गर्न पाइँदैन । तर उक्त ठाउँमा भने एकातिर घना वस्तीसमेत छ भने अर्कोतिर झोलुंगे पुलसमेत रहेको छ । त्यसमाथि अहिले प्रशासनले नै खोलाबाट निकासी बन्द गरेको समयमा ट्राक्टर खोला पस्नु र प्रहरी समयमा नआउँदा सेटिङ भएको आरोप स्थानीयको छ ।


दुई पालिकाको सीमानामा पर्ने बुढी खोलामा दुवै स्थानीय तहले स्थान तोकेर ठेक्का लाएर उत्खनन गराउने गरेपनि बेला बेलामा स्कारभेटर जथाभावि खोलामा पसेर गिटी बालुवा लाने गरेका छन् । यस्तो कार्यले वरपरका संरचना तथा वस्तीमा डुबान तथा कटानको त्रास बढाउने गरेको छ ।