‘तरलता तत्काललाई अभाव भएको हो, लगानी डुबेको छैन’

न्युजलय २ माघ २०७८, आइतबार ०४:३५ मा प्रकाशित

दुई वर्षदेखि फैलिएको कारोनाको कारण देशैभरका सबै क्षेत्रहरु प्रभावित भएका छन् । लकडाउनले आर्थिक चहलपहल सोचेजस्तो हुन सकेको छैन । जसको कारण अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पैसा छैन । यसलाई अर्थशास्त्रको भाषामा तरलता अभाव भनिन्छ । तरलता अभावको प्रभाव धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था लि. लाई पनि परेको छ । जसले गर्दा ग्राहकहरुले आफूले गरेको बचत माग गरेको समयमा पाइरहेका छैनन् । 

निक्षेपकर्ताले आफुले भने जस्तो रकम नपाए पछि गुनासोहरु बढेको छ । केहीले त सहकारी नै टाट पल्टेको समेत चर्चा गरेका छन् । यसै विषयमा बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

१ . व्यवसायमा कोरोनाको कस्तो प्रभाव पर्यो ?

हामीजस्ता व्यवसायिक घरानालाई यसको प्रभाव प्रत्यक्ष नै परेको छ । बैंक तथा सहकारीलाई त झन् समस्या पारेको छ । खासगरी हामीले लगानी गरेका कर्जाहरु समयमा फिर्ता आउन सकेका छैनन् । जसले गर्दा पैसाको रोटेसन हुन नसक्दा तरलता अभाव देखिएको छ ।

२. बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको पैसा फिर्ता गर्न सकेन भन्ने खालका टिका टिप्पणी आईरहेको छ, के सहकारीको अवस्था गाह्रो नै हो ?

बराह बचत तथा ऋण सहकारी संस्था लि. गाह्रो अवस्थामा भन्ने कुरा हैन । सदस्यहरुले माग गरे बमोजिमको भुक्तानीमा तरलता अभावको कारण केही समयको लागी असहज भएको चाहिँ हो । तर गाह्रो अवस्था भयो, आर्थिक समस्यामा पर्यो भन्ने कुरा चाहिँ होइन । 

३. किन शेयर सदस्यले समयमै निक्षेप फिर्ता पाउन सकिरहेका छैनन् ?

निक्षेप पाईराख्नु भएको छ, यति हो उहाँहरुले भने जती रकम पाउनु भएको छैन । कारण मैले अघि भनिहालेँ, कर्जा लगानी समयमा नउठ्नु, जम्मा भन्दा भुक्तानी केही प्रतिशत बढेर जानुले पनि भनेको समयमा मागे जती पैसा नपाउनुको कारण हो । 

४. सहकारीको निक्षेप अन्य क्षेत्रमा लगानी गरेर समस्या बढ्यो भन्ने आरोप छ नि । 

हामीले सहकारीको सिद्धान्त र नियम अनुसार नै कर्जा लगानी गरेको छौँ । शेयर सदस्यहरुबाट संचालित व्यवसाय तथा कृषि साथै उत्पादनहरुमा मात्रै लगानी गरेका छौँ ।  

५. लगानी सुरक्षित छ भन्ने आधार के छ ? शेयर लगानीकर्ताहरुलाई ढुक्क हुन के आग्रह गर्नु हुन्छ ?  

शेयर सदस्यहरुलाई ऋण लगानी गर्दा चल अचल सम्पती राखी सुरक्षण लगानी गरेका छौँ । केही भइहालेमा निक्षेपकर्ताहरुको लगानी त्यहाँबाट नै असुल उपर हुनेछ । साथै शेयर सदस्यहरुलाई अझ के विश्वस्त तुल्याउन चाहन्छौँ भने संस्था एबम् संचालकको जायजेथाबाट भए पनि लगानी असुल हुनेछ । हालको तरलता अभाव राष्ट्रव्यापी रुपमा नै भएकोले त्यसको असर हामीलाई पनि परेको हो । यो हाम्रो सहकारीको मात्र समस्या होइन । हामीले हालको अवस्थालाई सामान्य बनाउन शेयर सदस्यहरुसँग अन्तरकृया गरी संस्थाको गतिबिधि जानकारी गराई तरलता व्यवस्थापनको लागी नेपाल सरकार, सहकारी सम्बद्ध बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरिरहेको हुनाले सम्पूर्ण शेयर सदस्यहरुलाई ढुक्क रहन आग्रह गर्दछौ । त्यसैले यो अवस्थामा संयमित रहनसमेत आग्रह गर्दछौं ।