त्रिदेशीय क्रिकेटमा नेपालद्वारा मलेशिया ६ विकेटले पराजित

न्युजलय १७ चैत २०७८, बिहिबार ०२:४७ मा प्रकाशित

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो ।


यस श्रृंखलाको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्ने प्रावधान छ । मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए ।


यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्‍यो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए । 


नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । अब नेपालले भोलि पीएनजीसँग तेस्रो खेल खेल्नेछ ।