अधुरै रह्यो यू–१९ विश्वकप खेल्ने नेपालको सपना

न्युजलय २४ जेठ २०७९, मङ्गलबार ०८:२५ मा प्रकाशित

काठमाडौं । आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ महिला टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै भएको छ। 

मंगलबार प्रतिद्वन्द्वी थाइल्यान्डसँग ४९ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

थाइल्यान्डले दिएको ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटियो।

नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालकी शृष्टि जैशी सर्वाधिक ७ रनमा अविजित रहिन्। 

आजको खेलमा पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो। 

नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको थियो।

६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टी२० विश्वकप खेल्न पाउनेछन्।