इटहरी । 'सेफ्स बर्गर' नेपालले हालै मोरङको बलिया चोकमा आफ्नो आठौं आउटलेट सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यका बाहिर 'सेफ्स बर्गर'को यो पहिलो आउटलेट हो ।
यसअघि काठमाडौं र ललितपुरमा कम्पनीका ७ वटा आउटलेट सञ्चालनमा छन् । कम्पनीका सञ्चालक महेन्द्र तामाङकाअनुसार बलिया चोकमा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै कम्पनीले आउटलेट खोल्ने निर्णय लिएको हो । धरान, दमक, इटहरी, विराटनगरजस्ता कोशी प्रदेशका प्रमुख शहरमा पनि आउटलेट खोल्ने योजना कम्पनिको छ ।
बलियाको आउटलेटमा खाना पारखीहरुको भीड बढ्दो छ । सञ्चालक तीर्थराज कटुवाल भन्छन्, ‘बलियाको आउटलेटमा शुरुवातमै राम्रो व्यापार अगाडि बढेको छ।’
यस्तो छ सेफ्स बर्गर कथा
वैदेशिक रोजगारीको सिलसिलामा संखुवासभा धर्मदेवी नगरपालिका-८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङको भेट दुबईको जुमेरा टावरको पाँचतारे होटलमा हुन्छ। यी नेपाली युवाले लामो समय विदेशमा सेफ र हस्पिटालिटी सिक्छन्।
करिब १७-१८ वर्ष पाँचतारे होटलमा सेफ र हस्पिटालिटीमा निपुणता हासिल गरेका उनीहरूलाई आफूले जानेको सीपलाई जन्मभूमिमै किन उपयोगमा नल्याउने भन्ने प्रश्नले घचघच्याउँछ। ‘एउटा यस्तो प्लेटफर्म बनाऊँ, जहाँ हाम्रो आफ्नो पहिचान पनि बनोस् र हामीले आफ्नो सीप नयाँ युवामा प्रसार गर्दै उनीहरूले वैदेशिक रोजगारीमा पनि योग्यताअनुसार काम पाउन्’ भन्ने सोचको उपजका रूपमा ०७५ सालमा काठमाडौं चाबहिलमा पहिलो सेफबर्गर नेपाल स्थापना गर्छन्।
फागुन ०७५ म सुरज र महेन्द्रमान छुट्टिमा घर आएका हुन्छन्। त्यहीबेला चाबहिलमा सेफ्स बर्गर स्थापना गर्छन्। बिदामा आएर खोलेको उक्त रेस्टुराँको योजना भने उनीहरूले विदेशमै बनाइसकेका हुन्छन्।
तीर्थराज भन्छन्, ‘सेफ्स बर्गर सेफहरूको समूहले मिलेर खोलेको रेस्टुराँ चेन ब्रान्ड हो, जसमा विभिन्न थरिका कुइजिन पाइन्छन्। झट्ट सुन्दा बर्गर मात्र पाइने हो कि भन्ने धेरैलाई लागे पनि हामीले विभिन्न थरिका कुइजिन मेनुमा राखेका छौं।’
हरेक सेफका आफ्नै कौशल
तीर्थराज ग्राहक केन्द्रित सेवा अर्थात् हस्पिटालिटीमा पोख्त छन्। उनले ‘स्पा तथा वेलनेस’ मा दुबईमा एक वर्ष डिप्लोमा पनि गरे। काम गरिरहेको कम्पनीबाट उनले उक्त कोर्सका लागि मौका पाएका थिए।
महेन्द्रमान भने एसएलसी उत्तीर्ण भएसँगै विदेश जानुअघि ठमेलमा रेस्टुराँ सञ्चालन गरिसकेका थिए। उनी शुरुदेखि नै सेफ लाइनमा लागे। विदेश पुगेपछि उनले इटालियन र फ्रेन्च कुइजिनमा दक्षता हासिल गरे। १७-१८ वर्षको अवधिमा उनी थाई, भियतनामी, मलेसियन, सिगापुरियन र युरोपियन गरी अन्तर्राष्ट्रिय खानामा ‘अल राउन्डर’ बने।
सुरज तामाङको विशेषज्ञता एसियन कुइजिनमा छ। इटालियनमा पिज्जामा पनि उत्तिकै दक्ष छन् उनी।
सेफ्स बर्गरको मल्टी कुइजिन : स्वादिलो पनि, अर्गानिक पनि
झट्ट सुन्दा बर्गर मात्र पाइने फास्टफुड रेस्टुराँजस्तो लागे पनि मेनु हेरेर मल्टी कुइजिन ब्रान्ड छनोट गर्न पाउँदा ग्राहकले अलग्गै आनन्द अनुभूति गर्न सक्छन्। सेफ्स बर्गरमा थाई, कोरियन, कन्टिनेन्टल गरी मल्टी कुइजिन विभिन्न थरिका खानाको स्वाद लिन सकिन्छ।
‘हाम्रो विशेषता नै पार्टी भेनु आयोजना गर्ने, डाइनिङ, फास्ट कस्टोमर सर्भिस तथा टेकअवे सेवा हुन्,’ कटवाल भन्छन्, ‘टेकअवेअन्तर्गत फुडमान्डु, पठाओ, ‘पिक मी’ गरी अन्य फुड डेलिभरी पार्टनर छन्।’
पहिलो कोरोनाकालमा व्यापार ठप्प हुँदा स्टाफ पाल्नसमेत धौधौ परेको अनुभव महेन्द्रमानले बाँडे। पछिल्लोपटकको निषेधाज्ञामा टेकअवेले व्यापारलाई थोरै भए पनि राहत दिएको उनको भनाइ छ। कोरोनापछि रेस्टुराँ साविकझैं खुले पनि टेकअवेलाई भने निरन्तरता दिएका छन्, उनीहरूले।
२०७५ सालमा चाबहिल गोपीकृष्ण हल पछाडि पहिलो आउटलेट खोलेसँगै हालसम्म आठवटा आउटलेट खुलिसकेका छन्, सेफ्स बर्गरका।
सेवा विस्तारमा केन्द्रित
यी आउटलेटहरूमा लाखौं लगानी छ । कम्पनीको सेयर होल्डरका रूपमा अन्य युवा पनि जोडिएका छन्। दक्षिण कोरियामा १० वर्ष बिताएर आएका धादिङका वसन्त सिंखडा, सिन्धुपाल्चोकका अनिल श्रेष्ठ, निलु श्रेष्ठ, भूपेन्द्र श्रेष्ठ, आनन्द तामाङ र सानुमाया तामाङ तथा झलक केसी, महेश भट्ट, विनोद कार्की, गणेश भट्टराई उनीहरूमध्येका हुन्।
सेफ्स बर्गरको उद्देश्य आउटलेट खोलेर पैसा कमाउनु मात्रै नभई सोसल वर्क र युवालाई तालिम दिनु पनि हो। नेपालबाट हातमा सीप नभएका दाजुभाइलाई सिपालु बनाएर विदेश पठाउन सके सहजै काम पाउने उनीहरूले लामो समयको वैदेशिक रोजगारीमा थाहा पाएका छन्।
सुरज भन्छन्, ‘हातमा राम्रो सीप नहुँदा हामीले विदेशमा कति नेपाली दाजुभाइ, दिदीबहिनीले दु:ख पाएको देखेका छौं। भविष्यमा त्यस्तो अवस्था नरहोस् भन्ने हाम्रो लक्ष्य हो।’
अहिले पनि उनीहरूले बरिस्ता कफीको तालिम सेफ्स बर्गरमा सञ्चालन गरिरहेका छन्। कुइजिन सिकाइलाई पनि मध्यनजर गर्दै सेन्ट्रल किचेन स्थापना गरिसकेका छन्। र, ‘सर्भिस ओरिएन्टेड’ तालिम शुरु गरेका छन्। सेन्ट्रल किचेनको कमान्ड महेन्द्रमान र सुरजले सम्हाल्छन्। त्यसको उद्देश्य सेफ्स बर्गरका सबै आउटलेटमा खानाको स्वाद एकनास होस् र गुणस्तरमा पनि फरक नपरोस् भन्ने हो। र, सबै ठाउँमा एउटै इन्ग्रेडियन्स प्रयोग गर्ने उद्देश्य कम्पनीको छ।
हाइजेनिक खाना
सेफ्स बर्गरमा होम मेड र अर्गानिक मसलाहरू मात्र प्रयोग गर्छन्। आफैं सेफ भएको नाताले उनीहरू यसमा अनुभवी छन्। रेडिमेड ससजस्ता वस्तु उनीहरू प्रयोग गर्दैनन्।
महेन्द्रमान भन्छन्, ‘रेडिमेड सामानमा के कस्तो मिश्रण छ, थाहा हुँदैन। लामो समय सेफ भएका कारण आफैंलाई ती सामान बनाउने प्रोसेस र आवश्यक सामग्रीबारे जानकारी छ। र, अन्य रेस्टुराँको तुलनामा हाइजेनिक र स्वादिलो खाना पाइने प्रतिक्रिया ग्राहकबाट पाउँदै आएका छौं।’
भविष्यमा सिन्धुपाल्चोकमा उत्पादित एभोकाडो, संखुवासभाको नास्पाति, मास, खुर्सानीजस्ता गाउँमा किसानले फलाएका स्थानीय जातका अर्गानिक खाद्यवस्तु खरिद गरेर ल्याउने योजनामा पनि छन्। छिट्टै ती खाद्यवस्तु सेफ्स बर्गर किचेनका शोभा बन्ने छन्। ‘सेफ्स बर्गरको पहिचान गाउँ’ र ‘गाउँको पहिचान सेफ्स बर्गर’ उनीहरूले नारा नै बनाएका छन्। र, यसमा प्रचुर सम्भावना देखेका छन्।
अनलाइनबाटै अर्डर, घरमै विदेशी परिकारको स्वाद
‘सेफ्स बर्गर डट कम डट एनपी’मार्फत खानाका पारखीले अहिले घरमै बसी-बसी विदेशी परिकारको स्वाद लिइरहेका छन्। उक्त वेबसाइटमार्फत उपभोक्ताले मेनु हेरेरै खानाको अर्डर गर्छन्।
पहिले खाना डेलिभरीका लागि उनीहरू फुडमान्डु, पठाओ, डब्लूएल र पिक मीजस्ता डेलिभरी पार्टनरसँग निर्भर थिए। अहिले त्यो निर्भरता कम भएको छ, नजिकका आउटलेटबाट उपभोक्ताका घर-घरमै खानेकुरा पुग्छन्। खाना घरमा आएपछि उपभोक्ताले रकम भुक्तानी गर्न सक्छन्। महेन्द्रमानका अनुसार उपभोक्ताले जुन आउटलेटमा अर्डर गरेका छन्, त्यही आउटलेटमा नोटिफिकेसन जान्छ। अर्डर आएका खाना तत्काल तयार पारेर आफ्नै कर्मचारीमार्फत सेफ्स बर्गरले खाना ढोकामै पुर्याइदिन्छन्।
हरेक आउटलेटमा खाना डेलिभरी गर्ने कर्मचारी नियुक्त गरेको छ। र, नजिकका गन्तव्यमा डेलिभरी कर्मचारीले खाना पुर्याउँछन्। ‘अर्डर आएको खाना तयार हुने र डेलिभरी हुने समय पनि अर्डर गर्दा नै उपभोक्ताले जानकारी पाउँछन्।
कस्ता खाना पाइन्छ सेफ्स बर्गरमा?
अमेरिकन येल्लो बर्गर चिज सेफ्स बर्गरको विशेष परिकार हो। त्यसमा गर्किन जालापिनो प्रयोग गरिन्छ। त्यो मेक्सिकन स्पेसन पिकल हो। क्युकम्बर पिकल, कार्मेलाइज अनियन, सस, टोमाटो, फ्राइड एग यसमा मिश्रित हुन्छ। त्यो हेभी बर्गर हो।
सेफ्स बर्गरका पिज्जा ‘थिन एन्ड क्रस्टी’ छन्। पातलो अनि झुरुम झुरुम। यो इटालियन स्टाइलको पिज्जा हो। ह्यान्ड मेड पिज्जामा होम मेड सस। सेफ्स बर्गरमा रोलरबाट बन्दैन पिज्जा, हातैबाट बनाउँछन् सेफहरूले।
फ्रेस बफेल्लो मोज्जारेल्ला चिज प्रयोग हुन्छ पिज्जामा। पिजा डो आफ्नै, होम मेड सस अनि इटालियन स्टाइल। सेफ्स बर्गरका पिज्जाका विशेषता हुन् यी। पिज्जामा पनि इटालियन र युरोपियन फ्लेभरका विभिन्न भेराइटी सेफ्स बर्गरले ग्राहकलाई पस्किँदै आएको छ।
यस्तै, पास्ताका पनि प्रशस्त भेराइटीको स्वाद चाख्न पाउँछन्, ग्राहकले। सेफ्स बर्गरको बेस्ट फुडमा पर्छ, पास्ता पनि। बर्गर त नामबाटै पनि प्रशस्त परिकार उपलब्ध छन् भन्ने बुझ्न गाह्रो पर्दैन।
त्यसपछि फ्राई चिकेनमा पनि सेफ्स बर्गरले ग्राहकको मन जितेको छ। खासगरी, क्रिस्पी फ्राई चिकेन सेफ्स बर्गरका सबै आउटलेटमा खानाका पारखीको जिब्रोमै झुण्डिएको छ।
सेफ्स बर्गरका आफ्नै सिग्नेचर डिस ब्रान्डहरू छन्। ती डिस अन्य रेस्टुराँमा गएर चाख्न पाइँदैन। जापानिज स्टाइलको टेम्पोरा, फिस एन्ड चिप्स स्पेसल सिज्लर, लेमन गार्लिक चिकेन, प्यान सियर ग्रिल फिस, बफ टेन्डरलोइन, गार्लिक टाइगर प्राउनलगायत स्पेसल आइटम सेफ्स बर्गरमा उपलब्ध छन्।
हालै थकाली खानाको स्वाद पनि सेफ्स बर्गरमा उपलब्ध गराउन थालिएको छ। ‘अहिले थकाली खानाका पारखी प्रशस्त बढेका छन्,’ महेन्द्रमान भन्छन्।
नन-भेज खानाका पारखीका लागि प्रशस्त परिकार उपलब्ध रहेको सञ्चालक महेन्द्रमान बताउँछन्। लोकल चिकेन रोस्ट, छोइला, खसीको टाउको बोइल, तारेको र सुपलगायत रैथाने परिकार पनि उपलब्ध छन्। बफ सुकुटी पनि साँधेको, तारेको र छ्यापछ्याप गरी तीनवटा परिकारमा उपलब्ध छ। हाँसको छोइला एक किलो र आधा किलोको परिमाणमा उपलब्ध छ। बँदेल तावा, फ्राइ, डामेको, चिल्ली र बार्बिक्यू स्टाइलमा उपलब्ध छ।
धराने कालो बंगुर काठमाडौंका उपभोक्तामाझ लोकप्रिय छ। सेफ्स बर्गरले भने तावा, चिल्ली र बार्बिक्यू स्टाइलमा उपलब्ध गराउँछ।
बालबालिका केन्द्रित परिकार पनि छन्, सेफ्स बर्गरका आउटलेटमा। अनियन ड्रिंक्स, चिज स्यान्डविच, कर्न लग, फ्रेन्च फ्राइ, मिनी बर्गर, चिकेन फिंगर, चिप्स फिंगर, गार्लिक चिज ब्रेड, चिज बललगायत परिकार उनीहरूका लागि स्पेसल हुन्।
के त्यसो भए सेफ्स बर्गर मांसहारी उपभोक्ताका लागि मात्र हो त? ‘होइन, शाकाहारी उपभोक्ताका लागि पनि हामीकहाँ प्रशस्त परिकार उपलब्ध छन्,’ महेन्द्रमान भन्छन्। उनका अनुसार पिज्जा, बर्गर, पास्ता सबैमा शाकाहारी परिकार छन्।
अहिले सेफ्स बर्गको बिरयानी काठमाडौं उपत्यकाको बजारमा लोकप्रिय छ। ‘उपभोक्तालाई बिरयानी खुवाउने प्रयास गर्छौं, सबैले राम्रो फिडब्याक दिनुभएको छ,’ तामाङ भन्छन्, ‘चिकेन, भेज, एग, पनिरलगायत बिरयानीका परिकार उपलब्ध छन्।’
नेपाली खाना थाली सेटका भेज, चिकेन र मटन परिकार पस्किने गरेको छ। चाइनिज स्टाइलमा स्पेसल, वक, सेजवनका परिकार उपलब्ध छन्। स्यान्डविच ब्रेड, बर्गर बोन, र्याप ब्रेड सबै सेफ्स बर्गरका स्पेसल आइटम हुन्।
तालिमका अवसरै अवसर
यो कम्पनीले हस्पिटालिटी क्षेत्रमा रुचि भएका विद्यार्थीलाई तालिम पनि दिँदै आएको छ। खासगरी, बारिस्टा तालिम लिन चाहनेहरू धेरै आउने गर्छन्। अहिले नै पनि करिब १०० जना विद्यार्थीले विभिन्न आउटलेटमा तालिम पाइरहेका छन्। सेफ्स बर्गरमा तालिम लिएका विद्यार्थीले भोलिपल्टै जहाँसुकै रोजगारी पाउने गरेको तामाङको अनुभव छ। त्यसको कारण हो, सेफ्स बर्गरकै रेस्टुराँहरूमा तालिमका साथमा काम पनि गर्ने अवसर।
विद्यार्थीहरूले तालिम पूरा गर्दा सबै व्यावहारिक ज्ञान पनि हासिल गरिसकेका हुन्छन्। कतिपय विद्यार्थी विदेश जानका लागि तालिम लिन आएका हुन्छन्, कतिपयले सेफ्स बर्गरकै आउटलेटमा काम पाउँछन्। सेफ्स बर्गरमै काम थाल्नेको संख्या ठूलो छ। ‘हामी संख्यामा भन्दा गुणस्तरमा विश्वास गर्छौं। त्यसैले अहिलेका आउटलेटमा अझ राम्रो सेवा दिनेतर्फ केन्द्रित भएका छौं,’ तामाङ भन्छन्।
सेफ्स बर्गरमा कुलिनरी आर्ट डिप्लोमा, सुसी स्पेसलिस्ट बारिस्टाको तालिम उपलब्ध छ। खासगरी, विदेशमा काम गर्न जान चाहनेहरूका लागि सेफ्स बर्गरमा तालिमको अवसरै अवसर छन्। सेफ्स बर्गरबाट तालिम लिँदा जुनसुकै मुलुकमा पनि सहजै काम पाइन्छ। कम्पनीले दिने रिकोमेन्डेसन लेटरको पनि राम्रो मान्यता छ।
विदेशमा पाँचतारे र साततारे होटलहरूदेखि मिस्लेन स्टार सेफ अनि सेलिब्रेटी सेफसँग काम गरेर आएका सेफहरूले यहाँ तालिम दिने गरेका छन्। खासगरी, सन् २०२३ मा सेफ्स बर्गरले तालिमका विशेष अफर ल्याएको छ।