इटहरी । इटहरीमा निर्माणाधिन रमणा होटल निर्माणको अन्तीम चरणमा पुगेको छ । माघ महिनाभित्र होटललाई सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
यो होटलको सञ्चालनसँगै इटहरीले दोस्रो पाँच तारे होटल पाउनेछ भने कोशी प्रदेशमा पहिलो पटक विदेशी चेन होटल कम्पनि भित्रिनेछ ।
रमणामार्फत् विश्वको सबैभन्दा ठूलो होटल फ्रेन्चाइज ‘विन्डम’ कोशी प्रदेश भित्रिएको हो । विन्डमको नेपालमा यो तेस्रो फ्रेन्चाइजी हो । बाँकी दुई होटल काठमाडौमा छन् ।
माघ महिनाभित्र सञ्चालनमा आउन लागेको रमणा होटलमा ८१ वटा कोठा छन् । टेरेस बार, आल डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, दुईवटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पूल बार, स्वीमिङ पूल, जिम र स्टीम र साउनाजस्ता सुविधा उपलब्ध हुनेछन् । तीन सयजनासम्म सहभागि हुने गरी व्यवशायिक बैठक, सेमिनार, सभा र विवाह आदि कार्यक्रम यहाँ सञ्चालन गर्न सकिन्छ । होटलले ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
पुर्व आउने पर्यटकलाई विश्वस्तरीय आतिथ्य गराउने रमणाको उद्देश्य
भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टामै होटलमा पुग्न सकिन्छ । जसको कारण होटलमा स्तरीय सेवा खोज्ने नेपालीहरु त आउँछन् नै, भारत, भुटान अनि बंगलादेशका पर्यटकहरुसमेत आउने विश्वास गरिएको छ । त्यसका बाबजुद फ्रेन्चाइजीको माध्यमबाट अन्य देशका पर्यटकहरु पनि नेपाल आउने विश्वास छ ।
विन्डम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनि हो । यो अमेरिकी कम्पनिले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एसियामा मात्रै पनि २० वटा देशका १ हजार ६ सय बढी होटल यसको नेटवर्कमा छन् । यहाँ विन्डम आउने बित्तिकै ती देशका पर्यटकहरुसमेत नेपाल आउने सम्भावना बन्ने रमणा होटलका सञ्चालक पर्यटन व्यवशायी देशबन्धु बस्नेत बताउँछन् । भन्छन्, ‘यस होटलले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्नका लागि महत्वपूर्ण भूमीका निर्वाह गर्नेछ ।’
‘पुर्वको पर्यटन र व्यापार प्रबद्र्धन नै रमणाको लक्ष्य’ : सञ्चालक बस्नेत
अथाह पर्यटकीय सम्भावनाले भरिपूर्ण कोशी प्रदेशको पर्यटनलाई यो होटलले प्रबद्र्धन गर्ने बस्नेतले जानकारी दिएका छन् । हाल नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापतिसमेत रहेका बस्नेतकाअनुसार होटलले पुर्वका महत्वपूर्ण धार्मिक, प्राकृतिक, साँस्कृतिक स्थलको प्रचारप्रसारमा सहयोग गर्नेछ ।
‘रामधुनी, बराहक्षेत्र, पिण्डेश्वरी, चतराधाम जस्ता धार्मिक स्थलको समेत अन्तर्राष्ट्रिय प्रचारप्रसारमा पनि होटलले सहयोग गर्छ,’ उनी भन्छन्, ‘रमडा पूर्वी नेपालमा आउँदा आन्तरिकसहित बाह्य पर्यटकसमेत बढ्नेछन् । जोगबनी र किमान्थाङ नाकाको ट्रान्जिट रुपमा इटहरीलाई विकास गर्नका लागि हामीले यो होटल प्रोजेक्ट अघि बढाएका हौँ ।’
बस्नेतकाअनुसार भेडेटार, श्रीअन्तु, पिण्डेश्वरी, चतराधाम, कोशी टप्पुदेखि इलाम, वसन्तपुरसम्म पर्यटकको आगमन बढ्ने र विश्वस्तरमा प्रचारप्रसार हुने छ । होटलले वरपरका पर्यटकीय स्थलहरुलाई फिचर गर्दै आफ्नो सेवाको विषयमा जानकारी दिन सुरु गरिसकेको छ ।
कोशी प्रदेशमा यो सुरुवात हो : बस्नेत
बस्नेतको गृहनगर इटहरी हो । उद्योग वाणिज्य संघ इटहरीका संस्थापक अध्यक्ष चन्द्र बस्नेतका छोरा देशबन्धु अहिले काठमाडौलाई आधार बनाएर व्यवशाय गरिरहेका छन् । तर उनलाई इटहरीमै केही गरौं भन्ने भावनाले इटहरीमा लगानी गर्न प्रेरित गर्यो ।
बस्नेतकाअनुसार रमणा कोशी प्रदेशको लागि सुरुवाती व्यवशाय हो । बस्नेत इटहरीमै ३ हजारभन्दा बढीलाई एकैपटक सेवा दिने गरी २० वटा आधुनिक कोठासहितको रिक्रीएशन सेन्टर परियोजनाको तयारीमा लागिसकेका छन् । ठूलो अन्तर्राष्ट्रिय सम्मेलनहरु गर्नेगरी ब्यांक्वेट हल, नेपालकै ठूलो स्वीमिङ पूल, अत्याधुनिक स्वास्थ्य तथा स्पा केन्द्रजस्ता सुविधा त्यहाँ हुनेछन् ।
यसबाहेकका अन्य व्यवशायीक सम्भावनाहरुलाई समेत आफूले नजिकबाट नियालीरहेको बताउँदै उनले कोशी प्रदेशमा विदेशी लगानी भित्राउनका लागिसमेत प्रयासरत रहेको बताए ।
करिब एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय बस्नेतले नेपालमा एक पछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटलहरु संचालनमा ल्याइरहेका छन् । गत वर्षमात्र काठमाडौमा पाँच तारे होटलमा एक्कोर समुहको मक्योर ब्राण्ड भित्राएका थिए ।
पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूतसमेत हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।