धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा एअरपोर्ट बनाउनै पर्ने अडानमा छन्
। उनी सामाजिक सञ्जालमार्फत् आफ्नो अडान दोहोर्याइरहन्छन् । तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भने धरानमा एयरपोर्ट बनाउन अनिच्छुक देखिएका छन् । धरान एक्स्पोको उद्घाटन गर्न आएका मन्त्री किराँतीले भनेका छन्, ‘हवाई जहाज उडाउनु भनेको ट्याम्पो कुदाउनु जस्तो सजिलो छैन ।’
धरान एक्स्पो उद्घाटन अघि प्रेस सेन्टरको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हु्न् । ‘हवाई जहाज चल्ने बजार छ भने वडै पिच्छे पनि बनाउन सरकार तयार छ तर अर्बौँ लगानी गरेर बनाएको एयरपोर्ट चल्ने ग्यारेन्टी हुनुपर्यो,‘ उनले भने ।
नेपालमा बनेका २२ वटा एयरपोर्ट अहिले नचलेको उनले बताए । विराटनगरकै एयरपोर्ट पूर्ण क्षमतामा नचलेको उनको भनाई थियो । विराटनगर एयरपोर्ट पूर्ण क्षमतामा चल्न कम्तीमा पनि दिनको १०० उडान हुनुपर्नेमा अहिले २० वटा मात्र भएको उनले स्पष्ट गरे । त्यसमाथि कोशी राजमार्गको धरान–विराटनगर ६ लेनको सडक बनेपछि ४५ मिनेटमै एअरपोर्ट पुगिने बताउँदै उनले राज्यलाई आर्थिक रुपले धराशायी पार्ने पक्षमा आफू नरहेको बताए । तथापी अध्ययन भइरहेको र रिपोर्टले सम्भावना देखायो भने एअरपोर्ट बनाउने उनले बताए ।