इटहरी । इटहरी उपमहानगरपालिकाको गेटैअघि नगर प्रहरीहरुद्वारा पत्रकारमाथि दुव्र्यवहार गरिएको छ । पत्रकार कृष्ण बहाव भट्टराईलाई नगर प्रहरीहरुले हात हालेर क्यामेरा खोस्ने र दुव्र्यवहार गर्ने गरेका हुन् ।
समाचार संकलन गर्न जाने क्रममा पत्रकार भट्टराईलाई नगर प्रहरीहरुले घेरेर मोबाइलसमेत खोसेको र पत्रकारको परिचय दिँदा दिँदै पनि दुव्र्यवहार गरेको पीडित पत्रकारले बताएका छन् । ‘गेटमा सिटि सफारीहरु भेला भएर विरोध गर्दे गर्दाको समयमा फोटो खिँच्दै गर्दाको समयमा मोबाइल समेत खोसेर मुक्का हाने र गाली गलौज गरे,’ उनले भने ।
उनले कुटपिट गर्नेलाई कानुनी कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।
यस्तै पत्रकार सम्बद्ध संस्थाहरुले घटनाको विरोध जनाउँदै कडा कारवाहीको माग गरेका छन् । पत्रकार महासंघ सुनसरीले विज्ञप्ती जारी गर्दै आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिकै आक्रमणको भएको बताउँदै दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारवाही गर्न जोडदार माग गरेको छ ।
यस्तै प्रेस चौतारी सुनसरीले विज्ञप्ती जारी गर्दै अघिल्लो दिन उपमहानगरपालिकाको विषयमा समाचार लेख्ने पत्रकारलाई भोलिपल्ट नगरप्रहरीले उपमहानगरपालिकाको गेटमै कुटपिट गर्नुले समग्र नगर नेतृत्वकै नियतमाथि प्रश्न उब्जाएको जनाएको छ ।
यता इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दोषीलाई कारवाही गर्न प्रतिबद्ध रहेको बताउँदै कानुन शाखाका प्रमुख कमल पोखरेलको संयोजकतत्वमा ३ सदस्यीय छानबीन समिति बनाएको जानकारी दिएका छन् ।