इटहरी । सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोशी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व पश्चिम र उत्तर दक्षिण जान्छन् ।
२०३० को दशकमाक पूर्व पश्चिम सडक खण्ड बनेसँगै इटहरी सहरका रूपमा विकास हुन थालेको हो । यस अघि इटहरीको बजार अहिलेको बजार क्षेत्र भन्दा टाढा थियो । इटहरी उप महानगरमै पर्ने पकली पहिला गुल्जार थियो ।
तर पूर्व पश्चिम सडक खण्ड खण्ड बनेसँगै इटहरीमा बसोबास गर्न आउनेको सङ्ख्या दिन दिनै बढिरहेको छ ।
इटहरी उप महानगरपालिकाको तथ्याङ्क अनुसार इटहरीमा वर्षेनी २ हजार घर बनिरहेका छन् । घर बढेसँगै जनसङ्ख्या पनि बढिरहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ४० हजार २ सय ७ घर धुरी छन् । यहाँको जनसंख्या १ लाख ९८ हजार ९८ जनसङ्ख्या छ ।
२०६८ को जनगणनामा भने इटहरीमा ३३ हजार ७ सय ९४ घर धुरी थिए । इटहरीको जनसङ्ख्या ६८ सालमा १ लाख ४० हजार ५ सय १७ मात्रै थियो ।
यो बाहेक इटहरीमा व्यापार गर्न अध्ययन गर्न र अन्य कामका लागि बसोबास गर्नेको सङ्ख्या झन्डै ३ लाख रहेको अनुमान छ ।
यो तथ्याङ्कले के बताउँछ भने इटहरीमा बसाइँ सरेर आउनेहरुको संख्या अत्याधिक छ । किन त ? इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘बसाइका लागि उपयुक्त सहर भएर ।’
इटहरीको बसाइ सराइको चाप मधेस आन्दोलनबाट बढेको इटहरीको पूर्व मेयर द्वारिकलाल चौधरी बताउँछन् । पहाडबाट तराई बसाई सरेर झर्नेहरू इटहरीमा रोकिए । विराटनगर लगायतका सहरमा मधेस आन्दोलनका कारण मानिसहरू जान चाहेनन् । उनले भने, ‘मिक्स समुदाय भएका कारण इटहरीमा सुरक्षाका हिसाबले मानिसहरूको बसाई सराइको चाप बढेर गयो ।’
२०४५ को भूकम्पमा मानवीय एवं भौतिक क्षतिपछि धेरै धरानबाट पनि सुरक्षित बसाइकालागि मानिसहरू इटहरी झरेको इटहरी बुझेकाहरू बताउँछन् ।
घर मात्रै बनेनन् व्यापार पनि बढ्यो
इटहरीमा घर मात्रै बनेका छैनन्, ठूल्ठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरू बनिरहेका छन् । कोशी प्रदेशमै पहिलो पटक डिपार्टमेन्ट कल्चर इटहरीबाट सुरु भएको मानिन्छ । इटहरी पछिल्लो समय रेडिमेट व्यवसायको हबको रूपमा विकास भइरहेको छ । यहाँ होलसेल व्यापार हुन्छ । कुनै बेलाको धुलाबारीको होलसेल बजार इटहरी सरेको छ । धरान र विराटनगरको होलसेल बजार पनि इटहरीमा सरेको उद्योग वाणिज्य सङ्घ इटहरीले जनाएको छ ।
नेपाल सरकारले ०७१ साल मङ्सिर १६ गतेको निर्णयबाट इटहरी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरेको हो । नगरपालिकालाई उपमहानगरपालिका बनाउँदा इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसासमेत गरी चार वटा गाउँपालिकाहरू गाभिएका हुन् ।
देशलाई जोड्ने यातायात सञ्जालसँग इटहरीमा होटेल व्यवसाय समेत फस्टाएको छ इटहरीमा अहिले सोल्टी होटलको व्यवस्थापनमा सोल्टी वेस्टन्ड होटल सञ्चालनमा छ भने इटहरीमै अर्को पाँच तारे होटेल रमडा निर्माणाधिन छ ।
इटहरीको सम्भावना छ भन्ने देखेर इटहरीलाई बसोबासका रुपमा रोजेको तेह्रथुमबाट इटहरीमा बसाई सरेका राधाकृष्ण घिमिरे बताउँछन् । भन्छन्, ‘भौतिक पूर्वाधारको विकास पनि भइरहेको छ । सुरक्षाको अवस्था पनि राम्रो छ । बस्नका लागि इटहरी राम्रो लागेको छ ।’
उनका अनुसार शिक्षा स्वास्थय जस्ता कुराले पनि इटहरी उपयुक्त स्थलको रुपमा विकास हुँदै आएको छ ।
बाटो घाटोको हिसाबले त सजिलो भइ नै गयो धनकुटाबाट बसाइ आएका पदमलाल गिरीले बने यहाँबाट जता जान पनि बाटोको हिसाबले सहज भएको छ ।
सुरक्षामा मजबुत इटहरी
इटहरीमा नेपाली सेनाको पूर्वी पृतना छ । यस्तै इटहरीमै सशस्त्र प्रहरीको बराह बाहिनी पनि छ ।
इटहरीमै सुरक्षा निकायका प्रदेशका मुख्यालय हुँदा पनि सुरक्षाको प्रत्याभूति हुने ठानेर मानिसहरू इटहरीलाई बसोबासको उपयुत्तः स्थलको रूपमा लिने गरेका छन् ।
यो बाहेक इटहरीमा इलाका प्रहरी कार्यालय छ । इलाका प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा अहिले प्रविधिका माध्यमबाट सुरक्षा गतिविधि बढाइएको छ । इटहरीका चोक चोकमा सिसी क्यामरा जडान गरिएको छ । यसका कारण पनि अपराध अनुसन्धानमा सहज भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
उनले स्थानीय र उपमहानगरसङ्ग मिलेर प्रहरीले यहाँको शान्ति सुरक्षाको अवस्था नागरिकले प्रत्याभूति हुने खालको काम भएको बताए । उनका अनुसार अहिले इटहरी उप महानगरको मुख्य चोकमा सिसी क्यामराबाट अनुगमन गर्ने काम भएको स्थानीय तहसँगको समन्वयमा सीसी क्यामरा राखेको छ । सीसी क्यामराका कारण अपराध अनुसन्धानमा सहज भएको छ ।
पूर्वाधार विस्तारले आकर्षण
इटहरीको बाहिरी चक्रपथको काम प्रभावकारी बनाउने काम सुरु भैसकेको उपमहानगरले जनाएको छ । यसअघि ढल निकासमा सन्तोषजनक काम नभए पनि अहिले यसलाई तीव्रता दिइएको छ । वर्षौँदेखि अल्झिएको कोसी राजमार्गलाई ६ लेनको बनाउने काम अहिले अन्तिम चरणमा छ । फोहोर मैला व्यवस्थापनका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ ।
इटहरी भएर बग्ने टेङ्ग्रा र शेहरा खोलालाई व्यवस्थापन गर्न नसक्दा डुबानको त्रास भने कायमै थियो । तर यसपालिदेखि इटहरीलाई हिलो र धुलोमुक्त बनाउन काम सुरु भैसकेको नगरप्रमुख हेमकर्ण पौडेल बताउँछन् । उनले भने, ‘पूर्वाधार विकासको विस्तारले पनि इटहरीलाई बसोबास गर्ने उपयुक्त स्थलको रूपमा मानिसहरूले लिने गरेका छन् । यो काममा उप महानगर अझै लाग्ने छ ।’
स्वास्थ्य र शिक्षा उप महानगरको प्राथमिकता
इटहरीले विभिन्न कोणबाट आफूmलाई चिनाउने प्रयास गरिरहे पनि सार्थक हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, विराटनगर अथवा काठमाडौँ नै पुग्नुपर्ने बाध्यता नगर बासीलाई छ ।
यो बाध्यतालाई चिर्न इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाउन काम सुरु भैसकेको उपमहानगरपालिकाको दाबी छ । खास गरी तराई आन्दोलनपछि इटहरीमा जनघनत्व ह्वात्तै बढेको हो । जनघनत्व बढेसँगै भएका सडक, पुलपुलेसा र अस्तव्यस्त बजारलाई व्यवस्थित बनाउनु मुख्य चुनौती हो ।
सडक यातायात र चौबाटोले बढाएको व्यापारलाई व्यवस्थित बनाई विस्तार गर्नु पनि इटहरीको लागि चुनौती र अवसर हो । यही चुनौतीलाई अवसरको रूपमा बदल्न मुख्य चौक क्षेत्रमा आकाशे पुलको शिलान्यास र नगर बस सञ्चालनको लागि प्रक्रिया अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।