बझाङमा फेरी भूकम्प

न्युजलय २ कार्तिक २०८०, बिहिबार ०२:१९ मा प्रकाशित

काठमाण्डौ । बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । 


गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  


भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो ।


गएको असोज १६ गते पछि बझाङमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पछि लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको छ ।  लगातारको भूकम्प र परकम्पले सुदूरपश्चिम प्रदेशका बासिन्दा त्रसित बनेका छन् । १६ गतेको भूकम्प पछि बझाङमा ५ सय भन्दा धेरै परकम्प गइसकेका छन् ।


नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिमा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् ।