विश्वकपमा इरानी खेलाडीले यसरी गरे आफ्नो सरकारको विरोध

न्युजलय ६ मङ्सिर २०७९, मङ्गलबार ०१:३५ मा प्रकाशित

काठमाडौं । ठूला अन्तर्राष्ट्रिय खेलअघि हरेक देशका खेलाडीले गर्वका साथ छातीमा हात राखेर ठूलो स्वरमा आफ्नो देशको राष्ट्रिय गान गाउँछन् । तर कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत सोमबार इंग्लयाण्ड विरुद्धको खेलमा भने इरानका खेलाडीले राष्ट्रिय गान गाएनन् । 

उनीहरुले सरकारविरोधी प्रदर्शनकारीको समर्थनमा राष्ट्रिय गान नगाएका हुन् । राष्ट्रिय गान बज्दा खेलाडीहरू मौन थिए, तर स्ट्यान्डमा जम्मा भएका इरानी फ्यानहरूले संगीत बजाउँदा चिच्याए । कतिपयले थम्प डाउन इशारा गरे ।

गत सेप्टेम्बर १६ मा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि दुई महिनादेखि चलेको राष्ट्रव्यापी विरोधका कारण इरान हल्लिएको छ । 

इरानमा महिलाहरूको लागि ड्रेस कोडको उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । प्रहरीको हिरासतमा एउटी युवतीको मृत्यु भएपछि इरानमा दुई महिनाभन्दा बढीको विरोध प्रदर्शनका क्रममा झण्डै ४०० जनाको ज्यान लिइसकेको छ ।