उवा संघ झुम्काको चुनाव : ‘फेक’ मतदाता, रातारात चुनाव, व्यवशायीहरुले गरे बहिष्कार

न्युजलय २० चैत २०७९, सोमबार ११:३६ मा प्रकाशित

रामधुनी । उद्योग वाणिज्य संघ झुम्काको निर्वाचन व्यवशायीहरुले बहिष्कार गरेका छन् । तीन जना अध्यक्षका उम्मेदवारसहित प्यानलले बहिष्कार गरेका हुन् ।

फेक मतदाता भेटिएको र छानबिन हुनुपर्ने माग राखिएपनि निर्वाचन समितिले एकतर्फी रूपमा चुनाव गर्न लागेको भन्दै अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमको प्यानलले बहिष्कार गरेको हो । उनीहरुले बहिष्कार गरेपछि अहिले नवीन चौधरी र भोला रौनियारको प्यानल चुनावी मैदानमा छ । दुवै पक्षले फेक मतदाता खडा गरेको, इटहरी र काठमाडौमा रहेका मतदाताहरुलाई भोटर लिस्टमा समावेश गरेको आरोप बहिष्कार गर्ने पक्षले लगाएको छ ।

फेक मतदाता भएका कारण यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरी र उच्च अदालत विराटनगरमा उजुरी समेत परेको थियो । आइतबार हुन लागेको निर्वाचनमा चैत १६ गते बिहीबार उच्च अदालत विराटनगरले तत्काल निर्वाचन नगर्न भन्दै अल्पकालीन आदेश दिएको थियो भने आइतबार साँझ भने निर्वाचन गर्न बाधा नपर्ने फैसला गरेको थियो । 

साँझ फैसला आएलगत्तै भोलिपल्ट संघको चुनाव गरिएको हो । ‘यहाँका सदस्य गैर सदस्य छन् भनेर विरोध गर्दा गर्दै पनि एकतर्फी हिसाबमा चुनाव गर्न खोज्यो,’ अध्यक्षका उम्मेदवार फुयाँलले भने, ‘बेलुका ६ बजे सूचना जारी गरेर भोलिपल्ट १२ बजे निर्वाचन गराउन खोजियो ।’

उवासंघको कार्यसमितीले निर्वाचन समितिलाई दिएको मतदाता नामावलीअनुसार उद्योग वाणिज्य संघ झुम्कामा १४९० हाराहारी सदस्य छन् । जसमध्ये करिव ४ सय मतदाता रामधुनी नगरभन्दा बाहिरको भएको दावी गरिएको छ । नामावली छानविन गर्न पटक पटक भन्दा पनि एकोहोरो चुनाव गराउन खोजेपछि बहिष्कार गरिएको उनीहरुको भनाई छ । 

यता अध्यक्ष धर्मेन्द्र शाहले भने नामावलीमा समस्या नरहेको बताएका छन् ।