नेकपा एमालेको चालू केन्द्रीय कमिटी बैठक एमालेजन र केन्द्रीय सदस्यहरूको मात्र बैठक होइन! यो आम नेपालीहरूको भाग्य र भविष्यसँग जोडिएको निर्णायक बैठक हो। यसलाई नेपालभित्र रहेका एमालेप्रति आस्था, विश्वास र भरोसा राख्ने धेरै नेपालीहरूले चासोका साथ हेरिरहेका छन्। संसारभर छरिएर रहेका नेपालीहरूले समेत यसप्रति चासो र चिन्ता लिएका छन्। एमालेभन्दा फरक विचार राख्नेहरूले समेत चासो राखेको बुझेको छु।
अतीतको समीक्षा कसरी गरिन्छ? कार्यदलमार्फत देशभरबाट सुझाव गएको छ। आफ्नो कुरा पुग्छ या पुग्दैन? मेरा सुझाव पुगे र सुझाव ग्रहण गरे पार्टी अगाडि बढ्ने थियो भन्ने लाग्ने र पर्खने पनि ठूलो पंक्ति छ।
पार्टी सकाउने कि बचाउने? अलिअलि रहेको बीउ अनिकालमा कसरी जोगाउने भन्ने हेक्का राखेर यो बैठकले उचित निर्णय लिन आवश्यक छ।
देशी–विदेशी शक्तिहरूको आक्रमणलाई सामना कसरी गर्ने? संविधानको रक्षा गर्दै आजको अवस्था आउनुको कारण खोजी गर्ने। मुख्य कुरा, आफ्ना ७ लाख मतदाताले किन मत परिवर्तन गरे? यो विषय पहिचान गर्न सिङ्गो केन्द्रीय समिति टोल–बस्ती र मतदाताका घर–घर पुग्ने र सोध्ने—कहाँ–कहाँ गल्ती भयो? कसरी त्यो गल्तीलाई सच्याउने?
त्यसैगरी, पार्टीप्रति लागेका गलत आरोप, गलत बुझाइ र पार्टीमाथि भएका आक्रमणहरू चिर्ने। सबै पुराना अग्रजहरूसँग भेटघाट गरी सल्लाह–सुझाव लिने। यो काम एक चरणमा यतिबेला नै सक्नुपर्थ्यो। मतदाताले गर्ने गुनासोका आधारमा पनि सही निष्कर्षमा पुग्न एक हदसम्म सजिलो हुन्थ्यो।
नेकपा एमाले आफूभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने मामिलामा चुकेकै हो। आफ्ना अधिवेशनमा टोल, वडा हुँदै केन्द्रसम्म प्यानल बनाएर चुनाव गरेको विषय र एउटा पंक्तिलाई देशैभर पाखा लगाएको विषय अर्को समस्या बन्यो। यो विषयमा अब करेक्सन हुन जरुरी छ। अधिवेशनहरूमा फरक विधि अपनाउन जरुरी छ।
अर्को चरणमा कमिटीको अवस्था खोजी गर्ने। पुनर्गठनको विषय व्यक्ति केन्द्रित देखिन्छ। यो विषय तल्लो तहमा झन् जरुरी छ। चुनावमा अर्को पार्टीलाई भोट हालेका व्यक्ति अहिले पनि अन्तै समर्थन गरेका, एमालेका कमिटीमा कमिटेड होलान् र छन् पनि। यस्ता मान्छेबाट पार्टी कसरी चल्ला? अहिलेको अर्को मुख्य प्रश्न हो।
गएको चुनावपछि देखिएको सकारात्मक सम्भावना
हामीले २०४६ सालपछिका आमनिर्वाचनलाई हेरेका छौँ। जुन दल ठूलो हुन्छ र सरकारमा जान्छ, त्यो दलमा पार्टी प्रवेशको विशाल लहर नै चल्थ्यो। कांग्रेस, एमाले र माओवादी यी तीनवटै दल सरकारमा गएका बेला प्रवेशी लहर देखेका हामीले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने त्यस्तो लहर देखेका छैनौँ।
यसले के पुष्टि गर्छ भने रास्वपालाई मतदाताले परीक्षण कालमा राखेका छन्। पूर्ण विश्वास गरेर मत परिवर्तन गरेका होइनन्। यो विषय बुझ्न जरुरी छ र आफूलाई सच्याउन पनि जरुरी छ।
६ महिना नपुग्दै स्थानीय चुनाव आउँदैछ। कसरी यो अवस्था पार लगाएर पार्टी अगाडि बढ्ला?
नयाँ सरकार बनेपछिको देशको अवस्था, आकाशिँदो महँगी, गिर्दो अर्थतन्त्र, विपद् व्यवस्थापनमा देखिएको लथालिङ्ग अवस्था, अपरिपक्व र उट्पट्याङ्ग अभिव्यक्ति देखेर मतदाता पछुताएका छन्। अनि एमालेले आफूलाई तङ्ग्र्याउन सक्छ कि सक्दैन, आशा र भरोसा कहाँ र कसलाई गर्ने भन्ने अन्योलमा छन्।
यी तमाम विषयलाई ध्यानमा राखेर केन्द्रीय कमिटी बैठकले आशालाग्दो र भरोसाको सम्भावना बोकेको निर्णय लिनुपर्छ।
केन्द्रीय कमिटी मात्र एमाले होइन। झुपडीका एमाले सम्झिएर बैठक सम्पन्न होस् भन्ने शुभकामना दिन चाहन्छु।