इटहरी l फुटबल, भलिबल, ब्याडमिन्टन कोर्टसहितको ठूलो ग्राउण्डमा विद्यार्थीहरु रमाउँदै खेल्छन् । स्कुलकै करेसाबारीमा रोपेका तरकारी गोडमेल गर्न र पानी हाल्न पुगिरहन्छन् । कोही स्कुलको क्यान्टिनमा खाना पकाइरहेका हुन्छन् भने कोही चउरमा खरायोसँग रमाइरहेका भेटिन्छन् ।
शहरको कोलाहलभन्दा पर इटहरी वडा नं. १९ मा रहेको फुजिसान सगरमाथा बोर्डिङ स्कुलले विद्यार्थीहरुलाई जिवनोपयोगी सीपसँगै प्रकृतिसँग रमाउँदै पढ्ने वातावरण बनाइदिएको छ । त्यसैले यो स्कुल अन्य स्कुलहरुभन्दा भिन्न छ ।
स्कुलका संस्थापक लालबहादुर श्रेष्ठ जापानमा लामो समय काम गरेर फर्केपछि त्यहाँका बालबालिकाले पाएजस्तै शिक्षा दिने उद्देश्यले यो स्कुल २०६४ सालमा खोलेका थिए । अहिले २०७९ सालदेखि यो स्कुले आफ्नो शिक्षण पद्धती फेरेको छ र व्यवहारिक शिक्षण विधिलाई लागु गरेको छ ।
अंग्रेजी भाषामा अध्यापन हुने, कम्प्युटरलगायत प्राविधिक शिक्षा दिने यो स्कुलले विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउने तरिकाले व्यवहारिक शिक्षण विधि अवलम्बन गरेको स्कुलका प्रन्सिपल सुर्यप्रसाद चौलागाई बताउँछन् । शिक्षणमा लामो अनुभव संगालेका चौलागाईले नेपाल अनि विदेशको शिक्षा अनुभव संगालेका छन् । त्यही अनुभवको आधारमा उनले स्टिम एजुकेसन पद्धतीलाई यो स्कुलमा लागु गरेका छन् ।
‘अब प्रभावकारी शिक्षण विधि आवश्यक छ, खासगरी विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई प्रकृति र जीवनसँग जोडेर सिकाउन आवश्यक छ,’ उनी भन्छन्, ‘आधुनिक प्रविधि र परम्परागत संस्कारलाई फ््युजन गर्दै प्रकृति र जनजीवनसँग जोडेर सिकाउने हो भने विद्यार्थीले छिटो सिक्छन्, अनि उनीहरुको जीवनमा परिवर्तन आएर सधैंभरीलाई काम लाग्छ ।’
खेतबारीदेखि भान्सासम्म विद्यार्थी
स्कुलहरु शिक्षित बेरोजगार उत्पादन गर्ने थलो नबनोस् भन्नका लागि यो स्कुलले यहाँ पढ्ने विद्यार्थीहरुलाई जीवनोपयोगी सीपहरु सिकाउने गरेको छ ।
स्कुलमा प्रत्येक साता विद्यार्थीहरुले आफैले आलोपालो खाना पकाउँछन् र पस्किन्छन् । खेतमा धान, तरकारी रोप्ने फलाउने अनि बेच्ने गर्छन् । कक्षा कोठामा पढेको गणित, विज्ञान, प्रविधिलाई आफूले खेतबारीमा व्यवहारिक रुपमै सिक्न पाएको स्कुलकी विद्यार्थी कक्षा ४ की नाम्साङ राई बताउँछिन् ।
स्कुलकै विद्यार्थी अक्शा श्रेष्ठका अनुसार खेतबारीमा काम गर्दा आफ्ना आमाबुवाले गरेको मेहेनतलाई अनुभव गर्न पाएको बताइन् । ‘हाम्रो आमाबुवाले कति मेहेनत गरेर पढाउनुभएको छ भन्ने कुरा थाहा पाएका छौं,’ उनी भन्छिन् ।
प्रशिक्षक राखेर खेल तथा अतिरिक्त क्रियाकलापहरु
स्कुलले अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता दिएको छ । विद्यार्थीहरुको रुची र क्षमताअनुसारका अतिरिक्त क्रियाकलाप तथा खेल प्रतियोगितामा अघि बढाउनका लागि प्रशिक्षक नै राखेर सिकाइरहेको छ । विद्यार्थीहरुले योग सिक्छन्, चित्र कोर्छन्, नृत्य र संगीतका कक्षाहरुमा रमाउँछन् । ठूलो क्षेत्रफल भएकाले फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस जस्ता आउटडोर खेलहरु खेल्न पाउँछन् ।
सिकाइको यो खुलापन विद्यार्थीहरुको लागि मात्र होइन, शिक्षकहरुको लागिसमेत उत्प्रेरक बनेको छ । ‘पढाउने तरिका फेरिएको छ । हामी अहिले नानीहरुले रमाउँदै खेल्दै वा खेतबारीमा प्रकृतिमा गएर कसरी सिक्छन्, त्यसरी सिकाइरहेका छौं र राम्रो पनि भइरहेको छ,’ स्कुलले गराउने शिक्षण विधिमा आएको परिवर्तनबारे स्कुलकी शिक्षिका नुमा लिम्बु र सुस्मिता भुजेल एकमत छन् ।
शिक्षकहरुलाई निरन्तर तालिम र प्रशिक्षण
स्कुलले लागु गरेको स्टिम एजुकेशन प्रणालीले बालबालिकालाई सीप, संस्कार र दक्षताले पुर्ण बनाउँछ । सामुहिकता र सहकार्यको भावना विकास गर्छ । साथै एक असल र सक्षम नागरिक उत्पादन गर्नको लागि आधार तयार गर्छ ।
त्यसकालागि शिक्षकहरु सक्षम हुनुपर्छ भन्ने सोचाइका साथ टिचर्स डेभलपमेन्ट प्रोग्रामलाई निरन्तरता दिइएको छ । बेला बेलामा काठमाडौबाटसमेत प्रशिक्षक ल्याएर तालिम प्रदान गर्ने कार्य गरिएको छ । प्रभावकारी शिक्षा कसरी दिने भनेर साप्ताहिक जसो शिक्षकहरुको बैठक बसिरहन्छ ।
प्रिन्सिपल चौलागाई आफै पनि शिक्षकहरुको क्षमता विकासका लागि आफूले सिकेको ज्ञान र सीप प्रयोग गर्न लागिपरेका छन् । शिक्षकहरुलाई नयाँ नयाँ तौर तरिकाहरुबारे जानकारी दिइरहन्छन् । यस्तै अविभावकहरुसँग पनि छलफल र अन्तक्र्रिया बारम्बार भइरहन्छन् ।
स्कुलका अन्य सुविधाहरु
स्कुलको आफ्नै क्यान्टिन छ । विद्यार्थी र शिक्षक सबै सोही क्यान्टिनमा सँगै बसेर खाना तथा खाजा खान्छन् । त्यसैले यहाँको खाना हाइजेनिक छ ।
शौचालयदेखि वातावरणको सरसफाइमा ध्यान दिइएको छ । सिसिटिभीबाट विद्यार्थी तथा शिक्षकको गतिविधिलाई मनिटरिङ गरिन्छ । सुरक्षाको राम्रो प्रबन्ध छ ।
इटहरी र रामधुनीसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । ल्याब, लाइब्रेरीको व्यवस्था छ । बिरामी हुँदा उपचार गर्ने छुट्टै कक्ष छ ।
सुन पसलको जिम्मेवारी छाडेर स्कुलमा सक्रिय
प्रबन्ध निर्देशक राकेश श्रेष्ठ आफ्नो बुवाले जापानमा बसेर देखेको र पाएको संस्कारलाई अहिले फरक तरिकाले स्कुलमार्फत् बालबालिका र समुदायमा हस्तान्तरण गर्न प्रयासरत छन् ।
‘बुवाले त्यतीखेर यो स्कुल सुरु गरेर यहाँसम्म ल्याउनुभयो, अब भने हामीले नयाँ तरिकाले स्कुललाई अघि बढाउन लागेका छौं,’ उनी भन्छन्, ‘विद्यार्थीलाई मनोरञ्जन र शिक्षालाई सँगै जोडेर पढाउन थालेका छौं, यो नयाँ तरिकालाई अविभावकहरुले पनि खुसी भएर स्वीकार्नुभएको छ ।’
स्कुलको व्यवस्थापन सम्हाल्नुअघि उनी इटहरीस्थित सुनचाँदी पसल सञ्चालन गर्थे । समाज विकासको लागि शिक्षा विकास हुनुपर्छ भन्ने बोध भएपछि अहिले सुनचाँदी पसलको जिम्मा श्रीमतीलाई दिएर उनी भने स्कुलमा सक्रिय छन् । त्यसो त उनले आफ्ना तीन जना छोराछोरीलाई पनि आफ्नै स्कुलमा पढाइरहेका छन् । इटहरीस्थित आफ्नो घरबाट उनीहरुलाई सँगै स्कुल लिएर जान्छन् र सँगै फर्कन्छन् । आफूले नभ्याउँदा स्कुल बस छँदैछ ।
भावि योजना
भावि दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने, आवासिय सुविधा दिने अनि स्वीमिङपुलसम्मको लागि पुर्वाधार बनाउने योजना बनाइएको बताउँछन् । उनी उनले स्कुलमा शिक्षण विधि र स्कुलको वातावरण नै फेरेका छन् । यो परिवर्तनले अविभावक र विद्यार्थी अनि शिक्षकहरु खुसी र उत्साहित छन् ।
‘फुजिसान सगरमाथा स्कुल स्थापनाको उद्देश्य नाफा कमाउनु थिएन र अहिले पनि छैन,’ उनी भन्छन्, ‘अहिले फेरिएको भनेको शिक्षण पद्धती हो, हामी मेहेनत गरेर सिकाउँछौं र विद्यार्थीलाई जीवनभर काम लाग्ने सीप, संस्कार र शिक्षा दिन्छौं ।’