इटहरीको माटो छामेका नवराज उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष दावेदार

न्युजलय १६ असार २०८३, मङ्गलबार ०७:२२ मा प्रकाशित

इटहरी । ६ महिनाको उमेरदेखि इटहरीको माटोसँग खेल्दै हुर्केका नवराज काफ्लेका धेरै साथीहरू विदेश उडे, उनी भने इटहरीको माटो सुम्सुम्याउँदै बसे । उद्योगदेखि व्यापारका विभिन्न आयामहरुसँग परिचित काफ्ले आज उद्योगी व्यवशायी हुँदै उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वको दावेदार बनेर उभिएका छन् ।


कक्षा ७ सम्म राष्ट्रिय माविमा पढेका उनले । त्यसपछि जनता माविबाट एसएलसी र इटहरीकै जनता बहुमुखी क्याम्पसबाट आइकम पूरा गरे । धेरै साथीहरु विदेशिँदा उनी भने बुबा जीवनाथ काफ्लेको प्रेरणाले व्यवशायी बने । बुवाले भन्ने गरेको, ‘जागिर खाने होइन, जागिर दिने मान्छे’ बने । उनका बुवा इटहरीका सुरुवाती उद्योगी व्यापारी तथा समाजसेवी हुन् । इटहरीलाई आजको स्वरुपमा ल्याउनका लागि उनका बुवाको योगदान छ ।


२०४२ सालतिर बुबाले सुरु गरेको इट्टा उद्योगमा ०५८ सालदेखि होमिए । त्यतिबेला इँटाको व्यापार राम्रो थियो । समयक्रममा उनले अरु क्षेत्रमा पनि हात हाले । व्यवसायको परिवेशलाई चिन्न सक्ने खुबी उनले देखाए । २०६९ सालमा इटहरीमा पशुपति होटल सञ्चालन गरे । आजसम्म उनको उक्त होटल चलिरहेको छ ।


त्यसपछि उनले २०७७ सालमा इटहरीमै कृषि फर्म सञ्चालन गरेर माछापालन सुरु गरे । इ रिक्सा आएपछि ई–रिक्साको ब्याट्रीको मार्केटिङ गरे । पूर्वको मेचीदेखि पश्चिमको महेन्द्रनगरसम्म पु¥याए ।


अध्यक्षको दावेदारी

लगातार तीन कार्यकाल उद्योग वाणिज्य संघ इटहरीको निर्वाचित सदस्य रहेका उनले संघको भवन निर्माण समितिको कोषाध्यक्ष भएर भवन निर्माण सम्पन्न गराए । यस पटकको निर्वाचनमा उनी अध्यक्षका दावेदार छन् ।


अध्यक्ष बन्दै गर्दा उनले संघलाई नयाँ उचाई दिने योजना बनाएका छन् । ईँटा भट्टा, कृषि, होटल, ट्रेडिङ आदि विभिन्न व्यवशायको अनुभव संगालेका उनलाई उद्योगी, व्यवशायीहरुले भोगिरहेका समस्याबारे थाहा छ । त्यसैले उनी संघलाई सबै व्यवशायीहरुको संगठन बनाउन चाहन्छन् । नीति तथा कार्यक्रममा सुधार ल्याएर व्यवशायीमैत्री इटहरी निर्माण गर्न चाहन्छन् ।


काफ्ले उद्योग वाणिज्य संघलाई प्रमाणपत्र वितरण गर्ने संस्था बनाउन चाहँदैनन् । व्यवशायीलाई परेका समस्या समाधान गर्ने र व्यवशायमा सहयोग गर्ने सहयोगी संस्था बनाउन चाहन्छन् । यस्तै व्यवसायीले घरमै बसेर मोबाइल एपमार्फत सदस्यता नवीकरण गर्न सकुन् भन्ने उनको चाहना छ ।


अबेरसम्म व्यवशाय सञ्चालन हुने वातावरण निर्माण गर्ने उनको योजना छ । साथै जबरजस्ती बजार बन्द गर्ने कार्य पनि गर्न नहुनेमा उनी जोड दिन्छन् । बजार सधैँ खुल्नुपर्ने तर कर्मचारीले साताको कुनै एकदिन बिदा पाउनुपर्ने गरी काम गर्ने उनको तयारी छ ।


उनी चुनाव जित्न मात्रै चाहँदैनन् । उनी इटहरीको अर्थतन्त्र चलायमान बनाउने, व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण, कर तथा नीतिगत सुधार, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा, बैंकिङ समस्या समाधान, स्टार्टअपका लागि प्रोत्साहन, व्यवसायीको आवाज बलियो बनाउने र इटहरीलाई व्यापारमैत्री, डिजिटल तथा चलायमान सहर बनाउने सपना बोकेर मैदानमा उत्रिएका छन् ।


इटहरीमा देखिँदै आएका समस्याहरु जस्तै, पार्किङ, सडकबत्ती, सरसफाइ, सिसिटिभी, सुरक्षा तथा बजार पूर्वाधार सुधारका लागि पहल गर्ने उनको योजना छ । युवा तथा महिलालाई उद्यममा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने उनको तयारी छ । लगानी सम्मेलन, व्यावसायिक संवाद, जब फेयर, बिज फेस्ट लगायतका कार्यक्रम आयोजना गरी इटहरीमा लगानी आकर्षित गर्ने सपना उनले देखेका छन् । 


प्रत्येक वडामा पुगेर व्यवसायीका समस्या प्रत्यक्ष सुन्ने तथा समाधानका लागि पहल गर्ने, मेड इन इटहरी अभियान चलाएर इटहरीमा उत्पादन भएका वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने । व्यवसायी सुरक्षा कोष स्थापना गर्ने, व्यवसायीहरूलाई आवश्यक विभिन्न विषयमा नियमित तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, व्यवसाय दर्ता, नवीकरण, कर भुक्तानी लगायतका सेवालाई एकद्वार प्रणालीमार्फत उपलब्ध गराउन पहल गर्ने लगायतको तयारी उनको छ ।


समाजसेवामा पनि उस्तै सक्रिय

बुवाकै पदचाप पछ्याउँदै व्यवशायसँगै सामाजिक कार्यहरुमा पनि उनी उत्तिकै सक्रिय छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाएका उनी नेपाल रेडक्रस इटहरीका यशस्कर सदस्य छन् । सन् २००१ मा लियो क्लब अफ इटहरी सुनसरीका अध्यक्ष भएका उनले सन् २०१९ मा लायन्स क्लब अफ इटहरी सिटीका अध्यक्षको नेतृत्व पनि सम्हालिसकेका छन् ।


बुवाले सुरु गराएको इट्टाभट्टा अहिले बन्द छ । त्यसो त उनका बुवा पनि यस संसारमा छैनन् । आमाको पनि निधन भइसकेको छ । 


तर उनका बाँकी व्यवशाय चलिरहेका छन् र समयसँगै अन्य थप क्षेत्रमा लगानी विस्तारको योजना बनाइरहेका छन् । धेरैभन्दा धेरैलाई रोजगारी दिने लक्ष्य उनको छ ।