इटहरी । सुनसरीको रामधुनी नगरपालिका–६ ईचौलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्याम सुन्दर खंग र सुनसरी इटहरी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय श्याम प्रसाद निरौला रहेका छन् ।
उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरे पश्चात आत्मरक्षा र नियन्त्रणमा लिनका लागि प्रहरीले जवाफी फायर गर्दा श्याम सुन्दरलाई गोली लागि सामान्य घाइते भएकोमा प्रहरीको निग्रानीमा सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ ।
यसैगरी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित रामधुनी नगरपालिका–१ झुम्का बस्ने ३५ वर्षीय कन्त नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र१–०२–०४३ प ९५५६ नम्बरको मोटरसाइकलका चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।