राजमा खेतीबाट राम्रो आम्दानी लिदै किसान

न्युजलय २१ चैत २०७८, सोमबार ०२:५६ मा प्रकाशित

प्रकाशपुर । बराहक्षेत्रका कृषकहरुले राजमा खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । हरियो तरकारी र दालका लागि गरिने यो खेती अहिले जिल्लाको महेन्द्रनगर, प्रकाशपुर, भोक्राहा र दक्षिणी क्षेत्र लगायतको स्थानमा हुँदै आएको छ । 

पछिल्लो समय कृषकहरु यो खेती तर्फ आकर्षित भएर लागेको प्रकाशपुरकी कृषक हुकुमाया बस्नेतले बताइन् । राजमा सिमी खानलाई स्वादिष्ट भएकाले पनि बिवाह, ब्रतवन्ध आदी जस्ता कार्यहरुमा राजमाको विभिन्न परिकार बनाउने हुँदा निकै लोकप्रीय बन्दै गएको छ । 

‘राजमा खेती नगदे बालिमा परीणत भएको छ । थोरै क्षेत्रफलमा पनि राम्रो आम्दानी हुने भएकाले किसानहरु कोसेबाली खेतितर्फ आकर्षित हुदै गएका छन् । प्रति किलो किसानले १३० देखि १५० रुपैयासम्म बिक्रि गर्ने गरेका छन् । कठ्ठामा ८ देखि १२ हजार सम्म कमाउने गरेका छन् त्यसले पनि किसान आकर्षण हुदै गएको बराहक्षेत्र नगरपालिकाका कृषि प्रविधिक निरबहादुर राई बताए । अरु बालीको तुलनामा उत्पादन राम्रो हुने र मूल्य पनि बढी हुने भएको, रोग किराको समस्या कम देखा पर्ने हुँदा किसानहरुको आकर्षण बढेको छ ।’ 

प्रकाशपुर हिडलुवाका कृषक चुडामणि प्याकुरेलकाअनुसार खानको लागि मात्र एक, दूई कठ्ठामा रोप्ने गरेका किसानहरुले प्रत्येक वर्ष बढाएर खेति गर्दै आएका छन् । 

राजमा खेतीको लागि बलौटे दोमट र चिम्ट्याइलो दोमट माटोमा उत्पादन राम्रो हुने गर्छ । राजमा खेतीको बजार राम्रो भएपनि किसानहरुले बिचोलियाहरुका कारण राम्रो भाउ पाउन सकेका छैनन् । 

‘प्रति केजी रातो राजमा १३० रुपैयमा घरैमा किन्न आउने र छिरमिरे राजमा सिमी १५० रुपैया प्रति केजीमा किन्न आउने गरेको कृषक प्रह्लाद बस्नेतले बताए । राजमा खेती गर्न अन्य तरकारी बालीलाई जस्तो मेहनत र लगानी गर्नू नपर्ने भएकाले पनि कृषकहरु व्यावसायिक रुपमै राजमा खेतीतर्फ लागेका हुन् ।