गौतमश्री सहकारीका सञ्चालक फरार

न्युजलय १४ साउन २०७९, शनिवार ०३:३४ मा प्रकाशित

काठमाडौं । काठमाडौंको गौतमश्री बहुउद्धेशीय सहकारीका सञ्चालक भागेका छन् । सञ्चालकहरु बचतकर्ताको पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएपछि पीडितहरु सहकारी विभागमा पुगेका छन् । 

सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत सञ्चालक व्यवस्थापक फरार भएको भन्दै बचतकर्ताहरु सहकारी विभाग पुगेका छन् । 

सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको बताइएको छ । पटक पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरुको रहेको सहकारी विभागले जनाएको छ ।

सहकारीको कार्यलय रहेको कुलेश्वरस्थित भवनमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका सञ्चालक रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेकोले बैंकले सुचना टाँसेको हो ।