पेट्रोलमा प्रतिलिटर दुई र खाना पकाउने ग्याँसमा २१५ रुपैयाँले वृद्धि

न्युजलय १४ असोज २०८०, आइतबार ०४:५५ मा प्रकाशित

काठमाडौ‌ं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।


नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार शनिबार रातिदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो।



जसमा पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ।


निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।


पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।


यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७६ रूपैयाँ ५० पैसा पर्नेछ। 


त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८४ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७८ रूपैयाँ पर्नेछ।


तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७९ रूपैयाँ पर्नेछ।


खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर  २१ सय १० रूपैयाँ  पर्नेछ।


त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ७८ रुपैयाँ र तेस्रो वर्गमा एक सय ७९ रुपैयाँ प्रतिलिटर पर्नेछ ।