क्रिएटर र व्यवसायीलाई जोड्न आयो कोल्याब, इटहरीमा क्रिएटर मिटअप

न्युजलय १९ असोज २०८३, सोमबार ०८:२० मा प्रकाशित

इटहरी । कन्टेन्ट क्रिएटर र व्यवसायीलाई आपसमा जोड्ने उद्देश्यका साथ नयाँ प्लेटफर्म ‘कोल्याब’ ल्याइएको छ । अष्ट्रेलियामा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेर विभिन्न बहुराष्ट्रिय कम्पनीमा काम गरेका इटहरीका युवा सफ्टवेयर इन्जिनियर सुन्दर वनले उक्त प्लेटफर्म बनाएका हुन् । वनले बनाएको प्लेटफर्म अहिले वेबसाइटमा छ भने चाँडै नै एपमासमेत ल्याउने गरी काम भइरहेको जनाइएको छ । 


कन्टेन्ट क्रिएटर र व्यवसायीबिच पुलको काम गर्ने यो प्लाटफर्म दुवैको लागि उपयोगी हुने वनले जानकारी दिएका छन् । धेरै क्रिएटरको बिचमा व्यवशायीले कोल्याबमार्फत् आफ्नो कम्पनिलाई आवश्यक क्रिएटर खोज्न सक्ने छन् भने क्रिएटरले पनि कोल्याबमार्फत् नै विभिन्न व्यवशायीहरुसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । कोल्याबमार्फत् क्रिएटरले आफ्नो क्षमता देखाउन र रेटहरु अफर गर्न सक्नेछन् भने व्यवशायीले पनि सोही प्रकारले जानकारी प्रवाह गर्नेछन् ।


कुनै प्लाटफर्म नहुँदा मौखिक अनि व्यक्तिगत चिनजानका आधारमा कामहरू जिम्मा लिँदा क्रिएटरहरूले सहमतिअनुसार तोकिएको समयमा भुक्तानी नपाउने, कामको बहानामा अनैतिक एप्रोच गर्नेलगायतका जोखिम थियो । ती सबै जोखिम यो प्लेटफर्मको मद्दतले कम गरेर क्रिएटरलाई फाइदा हुने वनले जानकारी दिए । त्यसका साथै व्यवसायीहरुलाई पनि क्रिएटरहरु खोज्न सजिलो हुनेछ । कोल्याबमा एआईसमेत इन्टिग्रेट गरिएकोले व्यावसायिक प्रस्तावहरू तयार पार्नको लागि उपयोगी हुने वनले जानकारी दिए ।


सोही विषयमा जानकारी दिने उद्देश्यले आइतबार इटहरीमा  ‘कोल्याब कनेक्ट–इटहरी क्रिएटर मिटअप’ कार्यक्रम गरिएको छ । कार्यक्रममा ३० जनाभन्दा बढी कन्टेन्ट क्रिएटर, व्यवसायी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा सहभागी कन्टेन्ट क्रिएटरहरूले डिजिटल सामग्री उत्पादनका क्रममा भोगेका अनुभव, चुनौती तथा सम्भावनाबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले सामाजिक सञ्जालका लागि प्रभावकारी र व्यवसायसँग जोडिने सामग्री निर्माणका विषयमा समेत अनुभव आदानप्रदान गरेका थिए । क्रिएटरहरुले व्यवसायीसँग सम्पर्क स्थापित गर्न गाह्रो भएको मध्यस्थकर्ताहरूले कमिसन खाने गरेको व्यवसायको बहानामा अनुचित लाभ लिने कोसिस गरेको काम गरेको पारिश्रमिक लिन असहज भएको लगायत गुनासो गरेका थिए।


कार्यक्रममा अग्रज सहकारीकर्मी टीकादत्त वन, पत्रकार हिमाल दाहाल, पत्रकार तथा क्रियटर रश्मी थापा, जेरी लिम्बु, किनमेल एपको रिजनल मेनेजर सरोज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । वक्ताहरूले कोल्याबको पहल सकारात्मक रहेको र यसले क्रियटरहरुको लागी नयाँ सम्भावनाको ढोका खोल्ने बताए । 

उनीहरूले स्थानीय व्यवसाय, उत्पादन तथा सेवाको प्रवर्द्धन, प्रचारप्रसारमा कन्टेन्ट क्रिएटरको भूमिका महत्वपूर्ण हुँदै गएको उल्लेख गर्दै व्यवसायी र क्रिएटरबीच सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमै सिर्जनात्मक सामग्री उत्पादन, व्यवसाय प्रवर्द्धन तथा डिजिटल माध्यमबाट रोजगारी र आयआर्जनका सम्भावनाबारे समेत छलफल गरेका थिए । तरहरा जेसिसले आयोजना गर्न लागेको कन्टेन्ट क्रिएशन प्रतियोगितामा कोल्याबसँगसमेत सहकार्य गरिएको तरहरा जेसिसका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका थिए ।