इटहरी गोल्डकपको उद्घाटन खेलमा मोरङ विजयी

न्युजलय ५ चैत २०७९, आइतबार ०१:०२ मा प्रकाशित

इटहरी । इटहरीमा आजबाट सुरु भएको १३ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा सगरमाथा युथ क्लब मोरङले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गरेको छ ।  

खेलको समयअवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सगरमाथा युथ क्लब मोरङले क्यामरुनी टोलीलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित बनाएको हो ।

सगरमाथाका लागि राजीव लोपोआ, मुस्के, अभिषेक राई र अभिषेक लिम्बूले गोल गरे ।

यस्तै, एभिनियरका लागि साङ्गु, जिनी र यान्निक ओओनाले गोल गर्दा जोइ एल्डोको प्रहार सगरमाथाका गोल किप्पर देव लिम्बूले रोक्न सफल भए ।

यस्तै, एभिनियरकै साबाको प्रहार पोलमा ठोक्किएर आउट जाँदा एभिनियरका लागि शनिबारको खेल दुर्भाग्य बन्यो ।

यससँगै गत वर्षको विजेता समेत रहेको सगरमाथा सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच सगरमाथाका मुस्के घोषित हुँदै नगद दस हजारसहित मेडल प्राप्त गरे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाखसहित मेडल र ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।

यस्तै, हरेक दिनको म्यान अफ द म्याचले नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र सहभागी प्रत्येक टिमलाई प्रतिम्याच २० हजार तयारी खर्चसमेत उपलब्ध गराइने बताइएको छ ।

प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ ।