काठमाडौँ । प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको पाइएको छ । काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिमा यही कार्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार २ वटा छापा माध्यम, २ वटा टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार(सामग्री सम्प्रेषण गरेको जनाइएको छ ।
यी समाचार माध्यममध्ये ४ वटालाई निर्देशन, २ वटालाई ध्यानाकर्षण, ६ वटालाई सचेत र ४ वटालाई स्पष्टीकरण पत्र पठाइएको र दर्तारसूचीकरण नभएका २ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिल वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी उक्त विज्ञप्तिमा जनाइएको छ ।
‘अनुगमनको क्रममा केही सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको एकपक्षीय वकालत गर्ने, एउटै सामग्रीमा कुनै राजनीतिक दल, दलका उम्मेदवारको बारेमा पक्षपोषण गर्ने र कसैको बारेमा नकारात्मक प्रभाव पार्ने तथा होच्याउने किसिमले तथ्यगत पुष्ट्याइँबेगर विश्लेषण हुने गरेको पाइएको हुँदा त्यसतर्फ सजगता अपनाउन सम्पूर्ण सञ्चार माध्यममा आग्रह गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै राजनीतिक दलको आमसभा(भेला जस्ता कार्यक्रममा एक(अर्को दल तथा दलका उम्मेदवारप्रति व्यक्त हुन सक्ने घृणास्पद अभिव्यक्तिलाई स्थान नदिनेतर्फ सञ्चार माध्यम सजग रहनुपर्ने जनाइएको छ ।
प्रेस काउन्सिल नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वर्द्धन गर्न सदैव क्रियाशील र सजग रहेको प्रष्ट पार्दै निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित र सन्तुलित रूपमा समाचार सम्प्रेषण गर्न गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ ।