काठमाडौं । आगामी वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ ।
बुधवार बसेको बैंकर्स सङ्घको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय गरेको हो ।
सङ्घका अनुसार मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ ।
यस्तै, साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर कायम गर्ने सहमति गरेका बैङ्कहरूले कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर निर्धारण गर्ने निर्णय भएको संघले जनाएको छ ।
बैङ्कहरूले अहिले साधारण बचतमा ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।