नेपाल पत्रकार महासंघको चुनाव सर्ने

न्युजलय २२ जेठ २०८१, मङ्गलबार १२:३१ मा प्रकाशित

काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार चैत २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए । 

जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको उनले बताए ।

अब ३१–३२ गतेतिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

महासंघका सचिव गोविन्द चौलागाईंले सक्रिय पत्रकारिता गर्ने कोही पनि पत्रकार छुट्न हुँदैन भन्ने मान्यता सबैमा रहेको बताए । 

महासंघको सदस्य शुद्धीकरणबारे अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएको थियो । सो कमिटीले चित्तबुझ्दो काम नगरेपछि महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको थियो । 

सो समितिले पनि छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो ।