काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध पदार्थ (दूध, पनिर, दही, नौनी, बटर, घिउ, मिठाई चिज, फ्रेस मिल्क) को मूल्य घटाएको छ ।
ग्राहकलाई सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले दुग्ध पदार्थको मूल्य घटाएको हो ।
दहीमा २० रुपैयाँ र नौनीमा एक सय रुपैयाँ छुट दिइएको छ । त्यस्तै स्ट्याण्डर्ड पाउडर दूधमा प्रतिलिटर २ रूपैयाँ, स्ट्याण्डर्ड दूधमा प्रति प्याकेट १ रूपैयाँ, पनिर (पाँच सय ग्राम)मा ५० रूपैयाँ, बटर (२५० ग्राम) ५० रूपैयाँ, घिउमा प्रतिलिटर एक सय रूपैयाँ, मिठाईमा १० रूपैयाँ, याक नौनीमा प्रतिकेजी एक सय ५० रूपैयाँ, याक चिज (पाँच सय ग्राम) ६० रूपैयाँ, कन्चन चिज (पाँच सय ग्राम) ५० रूपैयाँ र फ्रेस मिल्क (दुई सय एमएल बोटल)मा ५ रूपैयाँ छुट दिइएको हो ।
मूल्य घटेसँगै स्ट्याण्डर्ड पाउडर दूध प्रतिलिटर ९५ रूपैयाँ हालको मूल्य कायम गरिएको छ । यस्तै स्ट्याण्डर्ड दूध प्रति प्याकेट ४९ रूपैयाँ, दही प्रतिलिटर ७० रूपैयाँ, पनिर (पाँच सय ग्राम) ४५० रूपैयाँ, नौनी प्रतिकेजी एक हजार रूपैयाँ, बटर (२५० ग्राम) ३५० रूपैयाँ, घिउ प्रतिलिटर एक हजार एक सय, मिठाई २८० रूपैयाँ, याक नौनी प्रतिकेजी एक हजार एक सय रूपैयाँ, याक चिज (पाँच सय ग्राम) नौ सय रूपैयाँ, कन्चन चिज (पाँच सय ग्राम) ७६० रूपैयाँ र फ्रेस मिल्क (दुई सय एमएल बोटल) ७० रूपैयाँ मूल्य कायम गरिएको छ ।