नदीमा खस्यो यात्रुवाहक बस

न्युजलय १८ असार २०८३, बिहिबार ०२:५१ मा प्रकाशित

काठमाडौं । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक मिनीबस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा नजिक राजमार्गबाट कर्णाली नदीमा खसेको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बिहीबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका एक युवकको शव नदी किनारको भिरमा अड्किएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न भने बाँकी छ ।

दुर्घटनामा परेको बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त भइसकेको छैन । बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।