९ वर्षपछि गरिँदै इटहरी खानेपानीको निर्वाचन : १८ वर्षपछि नेतृत्व छाड्दै चौलागाईँ

न्युजलय ३० असोज २०८०, मङ्गलबार ०९:०३ मा प्रकाशित

इटहरी । उपभोक्ताहरुले सञ्चालन गरेको देशकै नमुना खानेपानी आयोजनाको रुपमा रहेको इटहरी खानेपानीको चुनाव आगामी माघमा हुने भएको छ । 

२२ हजार बढी उपभोक्ता रहेको खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि माघ ६ गते चुनाव हुने भएको हो । उक्त दिन वडा उपभोक्ता समितिको निर्वाचन हुनेछ । जसबाट १६७ जना निर्वाचित हुनेछन् । त्यसरी निर्वाचित भएकाहरुबाट माघ मसान्तभित्रमा कार्य समिति र लेखा समितिको निर्वाचन हुने तय भएको छ । 

त्यसका लागि पौष १० गतेसम्म संस्थाको विधान बमोजिम सदस्यता प्राप्त गरेका तथा नियमानुसार नामसारी भएका उपभोक्ताहरुले भोट दिन पाउनेछन् । त्योभन्दा पछाडि सदस्य बनेका तथा नामसारी गरेका उपभोक्ताहरुले मतदान प्रक्रियामा भाग लिन पाउने छैनन् ।

यो निर्वाचन ९ वर्षपछि हुन लागेको हो । गत २०७१ सालमा निर्वाचन भएको थियो । प्रत्येक चार वर्षमा हुनुपर्ने निर्वाचन कोरोना महामारी, स्थानीय निर्वाचन लगायतका कारणले रोकिँदै आएको थियो । 

यो निर्वाचनसँगै खानेपानी इटहरीमा लामो समय नेतृत्व गरेका एमाले नेता रामप्रसाद चौलागाईले नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले दुई पटकको निर्वाचनमा विजयी भएर इटहरी खानेपानी उपभोक्ता समितिलाई झण्डै २० वर्ष नेतृत्व गरेका छन् । सामान्य पुर्वाधार र सिमित धारा जडान गरेर सुरु भएको खानेपानी संस्था अहिले देशमै उपभोक्ताहरुले चलाएको ठूलो र व्यवस्थित संस्थामध्ये पर्छ ।

निर्वाचनका लागि इटहरी उपमहानगरपालिकाका पुर्वाधार विज्ञ अर्जुन दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।


लामो समय किन भएन चुनाव ?

खानेपानी उपभोक्ता समितिको निर्वाचनमा वडाका उपभोक्ताहरुले वडाको प्रतिनिधित्व गर्दै उठेका उम्मेदवारलाई भोट हाल्न पाउँछन् । चुनिएकाहरुको वडा परिषद् बन्छ । त्यसपछि सबै वडाका परिषद् सदस्यहरु भएर नेतृत्व छान्छन् । 

१८ वर्षदेखि लगातार दुई कार्यकाल खानेपानी संस्थाको अध्यक्षमा निर्वाचित रामप्रसाद चौलागाईका अनुसार ७१ सालमा ९ वर्षपछि निर्वाचन भएको थियो । त्यसयता पनि मिति सर्दै यो वर्ष बल्ल चुनाव हुने अवस्था बनेको हो । समयावधि किन लम्बियो ? चौलागाईकै शब्दमा यस्तो छ कारण,

‘७१ सालमा बनेको अहिलेको समितिको समयावधि ७५ मा चार वर्ष पुगेको थियो । १ वर्ष म्याद थपेर ७६ पुग्यो । 

विधान संशोधन गर्ने तयारी गरियो । 

पहिले ९ हजार सदस्य हुँदा सबै वडाबाट परिषद् सदस्य २८१ जना निर्वाचित भएका थिए भने ७५ सालमै १६ हजार सदस्य पुगिसकेपछि पुरानो निर्वाचन प्रणालीबाट अत्याधिक सदस्य निर्वाचन हुने र मतपत्र छपाइमै समस्या पर्ने भएकोले विधान संशोधन गर्न तिर लाग्यौं । 

त्यतीखेर नयाँ संरचनामा देश गएपछि कसले प्रमाणित गरिदिने भन्ने अन्योल थियो । ७७ सालमा ६ खण्डमा साधारणसभा गरेर विधान संशोधन गर्यौं । मैले त त्यतीखेरै चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्न जोडबल गरेको थिएँ । बिचमा कोरोना आयो । कोरोनाको कारण खानेपानीको मात्र होइन, कुनै तह वा संस्थाका चुनाव गर्न सकिने अवस्था थिएन । ७८ सालमा स्थानीय तह निर्वाचनले गर्दा चुनाव गर्न पाइएन । ७९ सालमा पनि राजनीतिक दलहरु तातेनन् । अहिले भने चुनाव गराउनेमा सबै एकमत भएपछि चुनावको वातावरण बनेको हो । यो पटक सबै वडाबाट गरेर १६७ जना सदस्य हुनेछन् ।’


नेतृत्व छाड्दै गर्दा के भन्छन् चौलागाईँ ?

चौलागाईँले विगतका वर्षहरुमा नै नेतृत्व छाड्न खोजेका थिए । खासगरी स्थानीय तहको निर्वाचन भन्दा अगाडी नै खानेपानीको निर्वाचन भएर आफू अलग हुने इच्छा राखेका थिए । 

इटहरी उपमहानगरपालिकाको मेयरको टिकटको दावेदार उनले दुई पटक नै टिकट पाएनन् । संस्था व्यवस्थापन गरेर उदाहरणीय संस्था निर्माण गरीसकेका उनी अहिले खानेपानी क्षेत्रको प्राविधिक र व्यवस्थापकीय विषयको राम्रो जानकारी राख्छन् । ठाउँ ठाउँमा उनले आफ्ना अनुभव साट्ने गरेका छन् भने नयाँ खानेपानी आयोजनाहरुलाई सल्लाह सुझाव दिने गरेका छन् । 

हुन त उनीविरुद्ध अख्तियारमा मुद्धासमेत परेको छ, तर त्यसको छिनोफानो अझै हुन सकेको छैन । उनले आफ्नो सक्रिय राजनीतिक जीवनमा अवरोध गर्न मुद्धा हालिएकोसमेत दावी गरेका छन् । 

‘मलाई सक्रिय राजनीतिबाट पर राख्ने नियोजित उद्देश्यले केही व्यक्तिले अख्तियारमा मुद्धा हालेका हुन्,’ उनी भन्छन्, ‘अख्तियारले ढिलो गर्यो, स्वतन्त्र छानविन समिति बनाएर आफैमाथि छानविन गरीपाउँ भनेर पनि राजनीतिक दलका नेतृत्वलाई आग्रह गरेँ, तर सुनुवाई भएन ।’

उनले आफूले कुनै अनियमितता नगरेको बताउँदै भने, ‘खानेपानीलाई एउटा उचाइमा लगेर छाड्दैछु । आगामी दिनमा अझ फराकिलो भएर इटहरीको विकासमा आफूलाई समर्पित गर्न चाहन्छु ।’