घोडेटार । उदयपुरको बेलका ७ स्थित बोलेरो दुर्घटनामा मृत्यु भएका ८ जनाको शोकमा हतुवागढी गाउँपालिकाले शोक बिदा दिएको छ ।
बिहीबार गाउँपालिकाले एक वक्तव्य जारी गर्दै शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको जनाएको हो ।
धरानबाट घोजपुर घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहिबार बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय सवारी चालक मानबहादुर बस्नेत, गाडीमा सवार हतुवागढी गाउँपालिका– २ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, चन्द्रप्रकाश राईको ६ महिनाको भान्जा दिशान राई, हतुवागढी गाउँपालिका– ९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका– ५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीया कमला अधिकरीको घटनास्थलमा मृत्यु भएको थियो । हतुवागढी गाउँपालिका– ५ का ४२ वर्षीय किसान राईको धरानको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका– ५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका– ६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका– २ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका– १ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सबिना परियार, ईटहरी– १७ सुनसरीकी ३४ वर्षीया गायित्री कट्वाल, उनकी ८ बर्षकी छोरी निकिता कट्वाल, हतुवगढी ६ भोजपुरकि कुलबुङ राई र ईटहरी– १७ की २९ वर्षीया रमा थापाको बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।
उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।