‘इटहरी रंगशाला दोब्बर ठूलो हुन सक्ने, सरकारले दिन बाँकी छ ८ विघा’ : केशव विष्ट

न्युजलय १८ भदौ २०८३, बिहिबार ०३:४८ मा प्रकाशित

इटहरी । इटहरी रंगशालालाई नेपाल सरकारले थप ८ बिघा जमिन दिन बाँकी रहेको राखेपका पुर्व सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । नेपाल सरकारले १६ बिघा जग्गा दिने निर्णय गरेपनि उपयोगका लागि तत्काल ८ बिघा मात्र दिएको जानकारी दिए ।


सञ्चारपाटीको आयोजना र जागृती क्लब इटहरीको संयोजनमा आज इटहरीमा भएको इटहरीको खेलकुदसम्बन्धी छलफलमा बोल्दै उनले सुरुमा दिएको ८ बिघा जग्गा उपयोग भएपछि मात्र बाँकी जग्गा दिने निर्णय गरिएको बताए । उनले उक्त जग्गा जिल्ला खेलकुद विकास समितिको नाममा रहेकोले बाँकी जग्गा प्राप्तीको लागिसमेत समितिलाई अघि बढ्न सुझाव दिए । 


‘८ विघा क्षेत्रफलमा पर्याप्त संरचनाहरु निर्माण भइसकेकोले अब बाँकी जग्गा प्राप्तीका लागि सबैलाई सँगै लिएर समिति अघि बढ्नुपर्छ,’ उनले भने । उनका अनुसार बाँकी जमिनमा अभ्यास गर्ने मैदान, स्वीमिङ पुल, खेलाडी आवास भवन निर्माण गर्न सकिने बताए । अभ्यास गर्ने मैदान छुट्टै हुँदा खेलमैदान नबिग्रने र खेलाडी आवास निर्माणपछि बाहिरबाट आउने खेलाडीलाई बस्न राहत हुने विचार व्यक्त गरे । 


उनले रंगशालामा निर्मित संरचना प्रदेशमाताहत रहेको भएपनि रंगशाला नगरपालिकाभित्र भएकाले इटहरी उपमहानगरपालिकाले चासो दिएर रेखदेख तथा मर्मत गर्नुपर्नेमा जोड दिए । 


उनले इटहरीलाई खेलमैत्री शहरका रूपमा विकास गर्न स्पोर्टस् सिटि घोषणा तथा स्पोर्टस् बैंक स्थापनासमेत गर्न सकिने अवधारणा राखेका थिए । यस्तै खेलाडी तथा प्रशिक्षकले आफ्नै पहलमा कम्पनी वा संस्था स्थापना गरी शेयरमार्फत स्रोत जुटाउने, नियमित प्रतियोगिता आयोजना गर्ने र खेलाडीको प्रशिक्षण तथा प्रोत्साहनका लागि दीर्घकालीन कोष निर्माण गर्न सकिने प्रस्तावसमेत अघि सारे ।


इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक, खेल पत्रकार तथा खेलकुद क्षेत्रका सरोकारवालाहरूले इटहरीमा खेलकुदको पर्याप्त सम्भावना भए पनि योजनाबद्ध विकास हुन नसकेको बताएका हुन् । उनीहरुले खेल एकेडेमी बनाउनुपर्ने, नियमित प्रतियोगिता गर्नुपर्नेसमेत माग राखेका थिए ।


खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षबीच सहकार्य र समन्वय बढाउनुका साथै इटहरीको खेलकुदलाई नयाँ गति दिने विषयमा साझा धारणा निर्माण गर्नका लागि कार्यक्रम गरेको सञ्चारपाटीका अतिथी सम्पादक तथा खेल पत्रकार अर्जुन सुवेदीले बताए । 


कार्यक्रमका संयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष केशव कार्कीले इटहरीमा खेल पूर्वाधार बने पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन नसकेको बताए । खेलाडीहरुमा उत्साह घट्दै गएको र समग्र योजना र नीति बन्न नसक्दा हिजोको खेलको इतिहास कायम राख्न नसकेको बताए । 


क्यान सुनसरीका पूर्वअध्यक्ष सीपी पौडेलले इटहरीको खेलकुद नीति बिनाउन पहल गर्नुपर्ने, इटहरीले आफ्नै सुविधासम्पन्न क्रिकेट मैदान बनाउनुपर्ने माग राखे । उनले इटहरीका केशव विष्ट राखेपको सदस्य सचिव भएकै बेलामा इटहरीलाई स्पोर्टस् सिटि घोषणा गरेर लगेको भए अहिले इटहरीमा खेल पूर्वाधारमा धेरै विकास भइसक्ने बताए । इटहरीमै क्रिकेट रंगशाला बनेमा एनपिएलका कतिपय खेलहरु इटहरीमा गर्न सकिने र त्यसले इटहरीको सामाजिक, आर्थिक विकास गर्ने बताए ।

यस्तै उनले इटहरीमा खेल एकेडेमीको अवधारणासहित अघि बढ्नुपर्ने, विभिन्न खेलका लागि ८ जना दक्ष प्रशिक्षकको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए । उनले वर्षेनी स्पोर्टस् ओलम्पिक गर्ने र इटहरीमै भएका कारण जसको स्वामित्वमा भएपनि इटहरी रंगशालाको मर्मत र विकासमा खर्च गर्नुपर्ने माग राखे ।


कार्यक्रममा बोल्दै ब्याडमिन्टन खेलाडी सुरेश कार्कीले ब्याडमिन्टनका लागि पूर्वाधार भए पनि पर्याप्त बजेट र नियमित प्रशिक्षणको अभाव रहेको बताए । खेलाडीलाई पढाइसँगै प्रशिक्षणका लागि छात्रवृत्ति तथा अन्य अवसर सिर्जना गर्नुपर्ने बताए । स्थानीय र राज्यस्तरबाट खेलकुदमा सहयोग घट्दै गएको तथा निजी क्षेत्रको पर्याप्त सहभागिता हुन नसकेको उनको भनाइ थियो । 


कराते खेलाडी समीर पोखरेलले सरकारले धेरै दर्शक हुने तथा आफ्नो प्रचार बढी हुने कार्यक्रमलाई मात्र स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग दिने प्रवृत्ति देखिएको बताए । इन्डोर खेलहरूमा पर्याप्त ध्यान नदिइएको, प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनको कमी रहेको र निजी क्षेत्रबाट प्रायोजन जुटाउन कठिन भएको उनले बताए । खेलाडी उत्पादनका लागि धेरैभन्दा धेरै प्रतियोगिता सञ्चालन गर्नुपर्ने भए पनि बजेट निकासा तथा प्रशासनिक प्रक्रियाका कारण प्रतियोगिता आयोजना गर्न चाहनेहरूलाई समेत समस्या हुने गरेको उनले बताए ।


भलिबल खेलाडी ढुण्डिराज गुरागाईंले रंगशालामा ट्रससहितको संरचना निर्माण गरी इन्डोर खेल सञ्चालन गर्न सकिने बताए । खेलाडीको सुरक्षालाई प्राथमिकता दिएर साँझको समयमा समेत प्रशिक्षण गर्न सक्ने वातावरण बनाउनुपर्ने र विद्यालय तथा कलेजमा खेल प्रशिक्षक नियुक्त गर्नुपर्ने उनको सुझाव थियो । उनले खेलकुदको महत्व अविभावकहरुलाई पनि बुझाउनुपर्ने बताए । सीमित व्यक्तिको पहुँचमा खेलकुदका अवसर केन्द्रित हुन नहुने, दिउँसो नभ्याउनेहरुका लागि रात्रीकालीन खेल सञ्चालन गर्नुपर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरेका खेलाडीलाई राज्यले सम्मान र प्रोत्साहन दिनुपर्नेमा उनले जोड दिए ।


योग प्रशिक्षक श्याम पौडेलले योगलाई केवल आध्यात्मिक गतिविधिका रूपमा मात्र नहेरी खेलकुद र स्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्ने बताए । विद्यालयमा योग प्रशिक्षणको अभ्यास भइरहेकाले यसलाई अझ व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो । 


तेक्वान्दो प्रशिक्षक कुलबहादुर गुरुङले अन्य प्रदेश तथा स्थानीय तहले खेलकुदमा प्रविधिको प्रयोग बढाउन सहयोग गर्नुपर्ने, रेफ्री तथा प्रशिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने र खेलाडीको प्रतिभाअनुसार आवश्यक सामग्री तथा प्रशिक्षण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।


साहसिक खेल व्यवसायी सुरेश बस्नेतले साहसिक खेललाई पर्यटनसँग जोडेर इटहरी र कोशी प्रदेशको नयाँ पहिचान निर्माण गर्न सकिने बताए । कायकिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङलगायतका खेलको ठूलो सम्भावना कोशी प्रदेशमा रहेको र त्यसकोलागि इटहरीले नेतृत्व लिन सक्ने उनको भनाइ थियो ।


फुटबल खेलाडी तथा प्रशिक्षक दिवस राईले खेलाडी उत्पादन नहुँदा इटहरीको फुटबल टिममै खेलाडीको संख्या घटिरहेको बताए । विगतको जस्तो उत्साह, प्रोत्साहन र प्रतियोगिताको वातावरण नरहेको भन्दै १५–१६ वर्ष उमेरदेखि नै खेलाडीलाई छनोट गरेर एकेडेमीमार्फत प्रशिक्षण दिने व्यवस्था गर्नुपर्ने उनले बताए । 


इटहरीका सुरज कार्की र विप्लब दाहालले आफ्ना छोराछोरीहरुले राष्ट्रियस्तरमा विभिन्न खेलकुदमा गोल्डमेडल ल्याएपनि स्थानीय तहबाट सहयोग र इटहरीबाट प्रोत्साहन नभएको बताए । उनीहरुले खेल सामाग्री किन्न र प्रशिक्षणको लागि वातावरण निर्माण गर्न इटहरीले नसकेकोमा दुःखेसो व्यक्त गरे । इटहरीका अनुरोध थापाले आफ्नी छोरीलाई बेला बेलामा खेल सामाग्री दिएपनि नगरले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।


पुर्व भलिबल खेलाडी तथा प्रशिक्षक वासुदेव साहले खेलकुद विकासको मुख्य आधार पूर्वाधार र स्रोत भएको भन्दै बनेका संरचनाको संरक्षण तथा प्रभावकारी व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।


योग प्रशिक्षक तथा फिटनेस सञ्चालक राम गिरीले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै बालबालिकादेखि अभिभावकसम्मले खेलकुद र व्यायामको संस्कार विकास गर्नुपर्ने बताए । स्वस्थ समाज निर्माणका लागि खेलकुद आवश्यक रहेको र खानपान तथा वातावरणमा आएको परिवर्तनसँगै नियमित शारीरिक गतिविधिको महत्व अझ बढेको उनले बताए । 


खेलाडी तीर्थबहादुर याक्सोले इटहरी रंगशालाको संरक्षण र व्यवस्थापन स्थानीय तहकै जिम्मेवारीभित्र राख्नुपर्ने बताए । उनले विद्यालय, कलेजलगायत व्यवशायीक संस्थाहरुले खेलाडीलाई सहयोग गर्दै लानुपर्नेसमेत धारणा राखे । अर्का खेलाडी लिला मगरले इटहरी रंगशालाको व्यवस्थापन र संरक्षणका लागि सम्बन्धित जिम्मेवार व्यक्तिहरुलाई जवाफदेही बनाउनुपर्ने र सबैले घच्घच्याउनुपर्नेमा जोड दिए ।


सञ्चारपाटीका अध्यक्ष सुमनपुरीले खेलकुद क्षेत्रको विकासका लागि दिगो र रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए । उनले विगतमा के भयो भन्दा पनि अब के गर्ने भन्ने कुरामा केन्द्रित भएर योजना र आइडियामा काम गर्नुपर्ने बताए ।


यस्तै भोलिको इटहरी अभियानका अभियन्ता हिमाल दाहालले इटहरीले भोगिरहेका विभिन्न क्षेत्रका पुराना समस्याहरुको दिगो समाधानका लागि दीर्घकालिन योजना बनाउने उद्देश्यले अभियान सुरु गरेको जानकारी दिँदै खेल क्षेत्रको लागि दीर्घकालिन योजना बनाउन सके त्यो योजनाका आधारमा संघ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रले पनि आवश्यक लगानी जुटाउन सजिलो हुने बताए । 

कार्यक्रमको सञ्चालन सञ्चारपाटीका विवेक भट्टराईले गरेका थिए । उनले खेलको इतिहास संरक्षण गर्दै आगामी योजना निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रम सञ्चारपाटीका विवेक भट्टराईले सञ्चालन गरेका थिए ।