घोडेटार । भोजपुरको हतुवगढी गाउँपालिका–५ स्थित होम्ताङमा उधौली साकेन्वा सिली मेला आयोजना गरिएको छ ।
५ नं वडाको आर्थिक सहयोगमा साकेन्वा सिलि मेला तथा खेलकुद उपभोक्ता समितिद्वारा आयोजित उक्त मेलाको बिहिबार हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातिको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी किरातिले प्राचीन कालदेखी निरन्तर मनाउदै आएको साकेन्वा लगायत समुदायको सांस्कृतिक परम्परालाई जोगाउन रैथाने मेला आयोजनाको महत्वपूर्ण भुमिका रहने र यसको पुस्तान्तरणको लागि युवा पुस्ताले ग्रहण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
साविक होम्ताङ गाविस अन्तर्गत अन्तर वडा फुटबल प्रतियोगिता, किरात समुदायको साँस्कृतिक नृत्य साकेन्वा सिली प्रतियोगिता र आर्चरी (धनुषवाण) प्रतियोगिता सहित आयोजना गरिएको उक्त मेला कार्यक्रम कार्तिक १७ गते सम्म सञ्चालन हुनेछ ।
होम्ताङमा किरात समुदायको चाड अनुकुल प्रत्येक वर्ष उधौली र उभौलिमा साँस्कृतिक कार्यक्रम सहित मेला आयोजना गरिदै आएको छ । आगामी उभौलीमा वडा नम्बर–६ को बजेट र समिती मार्फत कार्यक्रम आयोजना गरिने ५ नं. वडाका अध्यक्ष सुरेश कुमार राईले जानकारी दिनुभयो ।