पूर्वी नाकाबाट पन्ध्र अर्बको चिया, अलैची र अदुवा भारत निर्यात

न्युजलय ८ साउन २०८१, मङ्गलबार ०१:१८ मा प्रकाशित

काठमाडौँ । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०–०८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ। 

उक्त अवधिमा  १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ। 

आर्थिक वर्ष २०८०–०८१ मा  काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ। सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ। 

आर्थिक वर्ष २०८०÷०८१ मा यही नाका भएर  छ अर्ब ५२ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ। उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो।