यू–१९ विश्वकप एशिया छनोट खेलमा आज नेपाल र सिंगापुर भिड्दै

न्युजलय ११ फाल्गुण २०७९, बिहिबार ०१:०६ मा प्रकाशित

काठमाडौँ । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । बुधबार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो । 

नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो । 

क्यानका अनुसार दोस्रो खेल भने २५ फेब्रुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने  कुवेतसँग खेल खेलेको एक दिन पछि लगतै नेपाली यु–१९ टोलीले  २७ फेब्रुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ । 

२८ फेब्रुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् । त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मंगलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को शृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।