भोलिदेखि अति भारीसम्म वर्षाको चेतावन

न्युजलय २१ साउन २०८१, सोमबार ०६:३१ मा प्रकाशित

काठमाडौं । नेपालमा मंगलबार (भोलि) र बुधबार (पर्सि) पानी पार्ने मनसुन प्रणाली थप सक्रिय हुने सम्भावना छ ।

 उक्त अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा मंगलबारदेखि नेपालनजिक सर्ने सम्भावना छ । यो प्रणालीको प्रभावले उक्त दुई दिन नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुन्छ । सम्भावित जोखिमप्रति सतर्कतासँगै पूर्वतयारी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले मनसुनी वर्षाको जिल्लागत सम्भावित जोखिमको विवरण समेत सार्वजनिक गरेको छ । महाशाखाले उक्त अवधिमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखालाई उच्च जोखिमको सूचीमा वर्गीकरण गरेको छ ।

कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बर्दिया, प्युठान, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।